धरान: कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले शुक्रवार सम्पन्न १५ औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा कोशी प्रदेशले एउटै पनि स्वर्ण पदक हासिल नगरी शून्यमा झरेकोमा प्रदेश सरकार जिम्मेवार भएको आरोप लगाउँदै यस्तो नतिजा लज्जास्पद भएको बताएका छन् । 
सुनसरी जिल्ला फुटबल संघव्दारा आयोजित ‘फिफा कनेक्ट एण्ड स्पोर्टस् इञ्जुरी काउन्सेलिङ’ अनुशिक्षण उद्घाटन गर्दै भने ‘फुटबलमा समेत यसपालि कोशी प्रदेश स्वर्ण पदकमा शून्य भएको छ ।’ यस्तो अवस्थाको जिम्मेवार प्रदेश सरकारको खेलकुदको तयारीमा राजनीतिकरणको कारण भएको उनले आरोप लगाए ।
राष्ट्रपति खेलकुदमा भएको लज्जाजनक हारको जिम्मेवारी सम्बन्धित मन्त्री र मन्त्रालयले लिनु पर्ने बताउँदै प्रतियोगिताको पूर्व तयारीमा मनोमानी,बेवास्ता र गैर जिम्मेवार नीतिका कारण प्रदेशको यस्तो अवस्था बनेको अध्यक्ष राईले आरोप लगाए । 
उनले भने ‘मन्त्रीकै जिल्ला खोटाङबाट राष्ट्रपति खेलकुद प्रतियोगितामा सहभागिता भएन, सुनसरी जस्तो फुटबलको उर्वर जिल्ला र सङ्खुवासभाबाट समेत सहभागिता भएन ।’ यो अवस्था खेलकुदप्रति प्रदेश सरकारको गैर जिम्मेवार नीतिका परिणाम भएको उनले आरोप लगाए ।
काठमाण्डौमा भएको राष्ट्रिय प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डमा बागमती प्रदेशले ३६ स्वर्ण, ७ रजत र ११ कांस्यसाथ ७ प्रदेशमा टिम च्याम्पियन बनेको छ । सुदूरपश्चिम प्रदेश १४ स्वर्ण, २० रजत र १८ कांस्य सहित दोस्रो स्थानमा रह्यो । लुम्बिनीले ५ स्वर्ण, १३ रजत र १५ कांस्य जित्दै तेस्रो स्थानमा रह्यो । 
गण्डकी प्रदेश ४ स्वर्ण, ११ रजत र १७ कांस्य, कर्णाली प्रदेश ४ स्वर्ण, ६ रजत र १९ कांस्य, मधेस प्रदेश ३ स्वर्ण, २ रजत र १० कांस्यसाथ छैटौँ स्थानमा रह्यो । स्वर्ण पदक विहीन कोशी प्रदेशले ७ रजत र ८ कांस्य पदक लिएर अन्तिममा रहेको छ ।
anfa-sport