धरान : धरान उपमहानगरपालिकाका उपप्रमुख अईन्द्र बिक्रम बेघाले ‘नगर प्रमुख हर्क साम्पाङले श्रमदानको नाममा खडा गरेको किर्ते फायलमा म हस्ताक्षर गर्दिन’ भनेर अस्वीकार गरेको रकम ११ जना वडाध्यक्ष, कार्यपालिका सदस्यहरू र प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाईको सहमतिमा भुक्तानी भएको छ ।
श्रमदानबाट बनेको भनिएको धरान–१६ बहुभाषिक पाठशालाको ग्याबिन पर्खाल निर्माण कार्यको नगरपालिका कोषबाट रकम निकाल्न डोर हाजिरी गरिएको पाइएपछि ठुलै विवाद भएको थियो ।
उक्त रकम भुक्तानी नभए अन्य सबै निर्माणको भुक्तानी नहुने भन्दै नगर प्रमुख साम्पाङले लेखा शाखाबाट ३०/४० वटा भुक्तानीको प्रक्रियामा रहेका फायलहरू कब्जामा लिएका थिए ।
डोर हाजिरीको रकम भुक्तानी गर्न सहमति गरेपछि हिजो मङलबार नगरप्रमुख हर्क साम्पाङले रोकिएका सबै योजनाको भुक्तानी हुने बताए ।
उनले भने ‘सबै मिलेर गर्नु पर्छ भएको कामलाई नभएको भन्न मिल्दैन भुक्तानी सबैको हुनपर्छ ।’
उपप्रमुख बेघाले भने ग्याबिन पर्खाल निर्माणमा संलग्न ‘श्रमदाताहरूको नाममा नगर प्रमुख साम्पाङले आफैले फायल खडा गर्दै आएको गैह्रकानुनी कार्यमा मेरो सहमति छैन’भनी हस्ताक्षर गरेका छैनन् ।
ऐन अनुसार योजना सम्पन्न भएको अनुगमन उपप्रमुखबाट भई उनले प्रमाणीकरण गरेपछि मात्र भुक्तानी दिइनु पर्ने प्रावधान छ ।
नगरप्रमुख,वडाध्यक्षहरू र प्रमुख प्रशासकीय अधिकृत बिच २बुँदे सहमति भएपछि बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटाबाट अनुगमन गराई भुक्तानीको प्रक्रिया पुरा गरिएको हो ।
सहमति भएपछि प्राविधिक स्टेटमेन्ट अनुसार १७ लाख ४० हजार २९४ रुपैयाँ २२ पैसा मध्ये श्रमदानबाट ९ लाख ९८ हजार ७६० रुपैयाँ १६ पैसा बाँकी ग्याविनको ७ लाख ४१ हजार भुक्तानी दिने निश्चित भएको हो ।
लिखित सहमति भएपछि धरान-१५ का वडाध्यक्ष नरेश इङवारमले भने ‘ऐनहरू हामी आफैले बनाउनु पर्छ’ ।
२ बुँदे सहमति भनिए तापनि भुक्तानीका लागि नगरप्रमुख हर्क साम्पाङ सहितले ५ वटा शर्तबन्दीमा हस्ताक्षर गरेका छन् ।
सहमति उपबुँदा‘ग’मा नगरप्रमुख साम्पाङले प्रमुख प्रशासकीय अधिकृतलाई स्पष्टीकरण माग्दै लेखेको पत्रफिर्ता लिई सामाजिक सञ्जालबाट हटाउने र पत्रफिर्ता भएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराउने कुरा उल्लेख छ ।
सोही बुँदामा ‘साथै’ जोडेर नगरपालिकाको आन्तरिक विषय जनप्रतिनिधि र कर्मचारीको आत्मसम्मानमा चोट पुग्ने गरी कोही कसैले सामाजिक सञ्जालमा नराख्ने नलेख्ने शर्त उल्लेख छ ।
उपमहानगरपालिकाको महत्त्वपूर्ण निर्णय गर्नुपर्दा प्रचलित ऐन कानुनको अधीनमा रही कार्यपालिका बैठकमा निर्णय गरी गर्ने शर्तमा पनि प्रमुख साम्पाङ सहितले हस्ताक्षर गरेका छन् । ‘प्रतिबद्धता’भनिएको लिखित सहमति पत्रमा भुक्तानीका लागि नगरप्रमुख, वडाध्यक्ष र कर्मचारीहरू बिच ‘प्याकेज’मा सहमति भएको देखिन्छ ।
विपद् व्यवस्थापनका कार्य गर्नुपर्दा तत्काल विपद् व्यवस्थापन समितिको बैठक बसी वा बैठक बस्न सम्भव नभए समितिलाई जानकारी गराई एकीकृत रूपमा विपद् व्यवस्थापनको काम गर्ने सहमति पनि भएको छ ।
नगरप्रमुख साम्पाङ सहित मङ्गलवार बिहान स्थलगत निरीक्षणमा गएका धरान १, २, ३, ५, ८, ९, ११, १५, १६, १८, २० का वडाध्यक्ष, कार्यपालिका सदस्यहरू विकास भाटी, सृजना नेपाल, विनीता बज्राचार्य, अनुप देवान, साबित्रा परियार,प्रमुख प्रशासकीय अधिकृत अम्बिका प्रसाद चौलागाई, बजार अनुगमन अधिकृत वेद प्रसाद सापकोटा, योजना प्रमुख वरिष्ठ इन्जिनियर सुरज श्रेष्ठ लगायत लिखित सहमति गर्न सहभागी थिए ।
सहमति पश्चात् प्राविधिक स्टेटमेन्ट अनुसार १७ लाख ४० हजार २९४ रुपैयाँ २२ पैसा मध्ये श्रमदानबाट ९ लाख ९८ हजार ७६० रुपैयाँ १६ पैसा बाकी ग्याविनको ७ लाख ४१ हजार भुक्तानी दिने भएको हो ।
सहमत पत्रमा उपप्रमुख अईन्द्रविक्रम बेघा,धरान–१७ का वडाध्यक्ष सूर्य बहादुर भट्टराई मनोज र धरान-१२ का वडाध्यक्ष टंक राई, धरान-१३ का वडाध्यक्ष नेत्र काफले विमति रहेको बताए ।
उपप्रमुख बेघा र धरान-१७ का अध्यक्ष भट्टराईले कानुनी उपचारमा जाने बताए ।
धरान-१३ का अध्यक्ष काफलेले विपत कोषबाट खर्च हुने भए सहमति रहने तर हालको अवस्थामा सहमति नरहेको बताए । धरान-१२ वडाध्यक्ष राईले आफुलाई कसैले नभनेको र नगएको बताए ।
यस्तो छ सहमति पत्रका सर्तहरू:-