धरान : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले धरान-लेउती सुरुङमा बनाउन प्रदेश सरकार दृढ रहेको बताएका छन् ।
प्रदेशको पहाडी जिल्लाको सडक सञ्जाललाई तराइसँग छोटो दुरीमा जोड्ने सुरुङ मार्गको निर्माण धरानको आर्थिक विकास र खानेपानीको दीर्घकालीन समस्या समाधानको लागि वरदान साबित हुने उनले बताएका हुन ।
हरियाली पार्कमा आज बिहीबार आयोजित दिवङ्गत नगर प्रमुख तारा सुब्बाको सातौँ स्मृति दिवसमा प्रमुख अतिथि मुख्यमन्त्री कार्कीले भने ‘सङ्घीय सरकारको समन्वयमा धरान-लेउती सुरुङ मार्गको अध्ययन कार्य भइरहेका छ ।’
प्रारम्भिक अध्ययन पछि विस्तृत योजनको अध्ययन (डिपिआर) को कार्य उच्च प्राथमिकतामा राखेर भइरहेका बताउँदै भने ‘जसरी भए पनि धरान–लेउती सुरुङ मार्ग बन्छ ढुक्क हुनुस् प्रदेश सरका दृढ छ ।’
सुरुङ मार्गले प्रदेशको पहाडी जिल्लाको सडक सञ्जाललाई तराइसँग छोटो दुरीमा जोड्ने बताउँदै सुरुङ मार्गले धरानको प्रमुख समस्या खानेपानीको दीर्घकालीन समाधान गर्ने उनले बताए ।
मुख्यमन्त्री कार्कीले स्वर्गीय नगरप्रमुख तारा सुब्बालाई सम्झिने हो भने धरानको विकास गर्न धरान– लेउती सुरुङ मार्ग बनाउन जरुरी रहेको बताए । उनले धरानका एमाले कायकर्ताहरू धरानको विकासमा एकजुट भएर दृढ सङ्कल्प गर्नुपर्ने बेला आएको बताए ।
धरानको पर्यटनको चर्चा गर्दै उनले धरान देखी चिन्डे डाँडा, साँगुरिगढी पदमार्ग लगायतमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न लागिपर्नु पर्ने बताए । मुख्यमन्त्री कार्कीले भने ‘पछिल्लो समय धरानका स्थायी बासिन्दाहरू बसाई सरेर जाने क्रम बढेको छ यसलाई रोक्न धरानमा स्वास्थ्य, शिक्षा, पर्यटनका क्षेत्रहरू बढाउन जरुरी छ ।’
उनले बिपी प्रतिष्ठान धरानमा बिमा सेवा बिमा सेवा निरन्तर रहने बताए । पछिल्लो समय प्रतिष्ठान रेफरल सेन्टरको रूपमा मात्र नभई प्रथम सेवा विन्दुको रूपमा समेत कायम गराउन एमाले सफल भएको बताए ।
मुख्यमन्त्री कर्मीले भने ‘यो ३ महिनाको लागि भनेर आए पनि यो सेवा निरन्तर रहन्छ, कहिल्यै हट्न दिदैंनौ जनता ढुक्क भए हुन्छ, बिमा सेवा निरन्तर रहन्छ ।’ यसको लागि प्रदेश सरकारको क्षेत्राधिकार नभए पनि सधैँ जनताको पक्षमा उभिने बताए ।
पिण्डेश्वर विद्यापीठलाई सहकार्य गर्न आग्रह
मुख्यमन्त्री कार्कीले बिहीबारै धरान-१४ स्थित पिण्डेश्वर मन्दिरमा बाबा धाम समितिद्वारा आयोजित जलाभिषेक पूजा कार्यक्रममा सहभागी भई बोल बम धार्मिक मेला शुभारम्भ गरेका छन् ।
उक्त अवसरमा मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बृहत्तर विजयपुर विकास समिति बनाउन तयार रहेको बताए । उनले भने ‘धरानवासीहरू र राजनैतिक दलहरू पञ्चकन्या देखी पिण्डेश्वर सम्म विकास र समृद्धिका लागि एकजुट हुनुपर्छ ।’
नागरिक समिति बनाएर त्यस मार्फत डिपीआर सहितको गुरुयोजना तयार गरिएमा प्रदेश सरकार विजयपुरको विकासमा लाग्ने बताए । बाबा धामका अध्यक्ष विकास बेनेपालीले पिण्डेश्वर मन्दिर विकास मिति बनाउन गरेको आग्रहमा मुख्यमन्त्रीले उक्त कुरा बताएका हुन ।
मुख्यमन्त्री कार्कीले पिण्डेश्वर विद्यापीठले प्रदेश सरकारसँग सहकार्य गरे विद्यापीठलाई अन्तर्राष्ट्रिय अध्ययन अध्यापन केन्द्र बनाउन सकिने बताए । संस्कृत विश्वविद्यालयका डिनले प्रदेश सरकारसँग सहकार्य गरे अर्बौँ खर्च गरेर भए पनि सुविधा सम्पन्न अध्ययन केन्द्र बनाउन सक्ने उनको भनाई छ ।
उनले भने ‘विश्व संस्कृत अध्ययनको शैक्षिक केन्द्र बनाउन प्रदेश सरकार तयार छ तर विद्यापीठले प्रस्ताव सहित सहकार्यको प्रस्ताव लिएर आउनु होला ।’
मुख्यमन्त्री कार्कीले एसियाली संस्कृत सम्मेलन धरानमा गर्ने प्रस्ताव आएकोले यसको तयारीमा जुट्न आग्रह पनि गरे । उनले भने ‘कोशी प्रदेश संस्कृति सम्पदाको विकासका काम गर्न तयार छ, तपाईँहरू पनि तयार हुनुस् ।’