• रश्मि प्रधान
धरान : सुनसरी-१ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद जसपाका वरिष्ठ नेता अशोक राईले धरान-लेउती खोला सुरुङ मार्ग यहाँको विकाशको लागि ड्रिम प्रोजेक्ट हुने बताएका छन् । धरान उपमहानगरपालिकाद्वारा आयोजित तिन दिने धरान उत्सवको आज बुधवार उद्घाटन समारोहमा उक्त कुरा बताएका हुन् । 
धरानबाट धनकुटाको लेउती सम्म ६ किलोमिटर सुरुङ मार्गको योजना छिटो अघि बढाउन आफ्नो प्रयास जारी रहेको बताउँदै उनले भने ‘सुरुङ मार्ग निर्माण योजना बनाउनका लागि सर्भे भैसकेको छ, केवल बजेट छिटो ल्याउन प्रयास भैरहेको छ ।’ उनले धरानको खानेपानीको समस्या सुल्झाउन पनि प्रयत्न भैरहेको बताउँदै भने ‘सरकारले सबै विकास निर्माणको कार्य गर्न सम्भव छैन, सरकारले ईन्फाईस्ट्रक्चर बनाएर प्रवर्द्धन गर्ने हो ।’
सांसद राईले भने ‘विकासको गति भ्यागुता उफ्रे जस्तो होइन सर्प हिँडे जस्तो गतिमा विकास अगाडि बढ्छ, विकास निर्माण एकै दिनमा एकै छिनमा चमत्कारी ढङ्गबाट हुँदैन बिस्तारै हुन्छ ।’ धरान-लेउती सुरुङ मार्ग बहुउद्देश्यीय हुने बताइएको छ । सुरुङ मार्गले धरानलाई मध्य पहाडी राजमार्ग सँग जोड्ने छ । त्यही मार्गबाट धरानमा लेउतीको खानेपानी ल्याउन सकिने जानकारहरूले बताउँदै आएका छन् । सुरुङ मार्ग कहाँबाट सुरु गर्ने भन्ने विषयमा भने योजनाकारहरू टुङ्गोमा पुगिसकेका छैनन् । 
सुरुङ मार्गको योजनामा असहमति जनाउँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङले समारोहमा सुरुङ मार्ग बनाउने भए जलाधार क्षेत्रबाट होइन चिण्डे डाँडाको तलबाट बनाउनु पर्ने बताए । योजना बनाएर मात्र हुँदैन विचार पुर्‍याएर योजना बनाउनु पर्ने उनको भनाई थियो । धरानमा अहिले पानीको अभाव भैरहेको बेला खानेपानीको पुराना संरचनाको ५ वटा पम्पमा २ वटा मात्र सञ्चालन रहेको खुलासा गरे ।
त्यसको मर्मत गर्दा ठुलो धन खर्च हुने भएको बताउँदै मेयर राईले सांसद राईलाई कोसीको पानी ल्याउन पहल गरिदिन आग्रह गरे । मेयर राईले बिपी प्रतिष्ठान धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्न पहल गरिदिन पनि सांसद राईलाई आग्रह गरेका थिए । पर्यटन खासमा के हो बुझ्न जरुरी भएको बताएको मेयर राईले बताए । 
समारोहमा सुनसरी-१ प्रदेश सभा (क) का निर्वाचित प्रदेश सभा सदस्य माननीय रमेश कुमार बस्नेतले धरानको विकासका लागि सबै एकजुट भएर अघि वढनु पर्नेमा जोड दिए । उद्घाटनमा सुनसरी-१ (ख) का निर्वाचित प्रदेश सभा सदस्य विजय राई, समानुपातिक प्रदेश सभा सदस्य यशोदा कायस्थ, पूर्व मेयर मनोज मेन्याङ्बो, तिलक राई, पूर्व उपमेयर मञ्जु भण्डारी राजनैतिक दलका नेताहरू उपस्थित थिए । 
उद्घाटनको अवसरमा पत्रकारद्वय मनिता चाम्लिङ र रोहित राईलाई नगद १५/१५ हजार सहित सम्मान गरिएको थियो । साथै गायक कलाकार सामाजिक संस्थाहरूलाई सम्मान गरिएको थियो । धरान-१२ स्थित पब्लिक हाई स्कुलमा उत्सव आयोजना गरिएको छ । उत्सवमा धरानको पहिचान बनेको कला, सीप, सांस्कृतिक प्रदर्शन, धरानमा उत्पादित कृषिजन्य बस्तु फुलहरू तथा जातीय परिकारका स्टलहरू रहेका छन् । उत्सवमा पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पसको मेकानिकल तेस्रो वर्षका विद्यार्थीहरूले बनाएको ‘गो कार्ट’ मुख्य आकर्षणको रूपमा देखिएको छ ।
Go-cartपुराना सामग्रीको प्रयोगबाट १ लाख रुपैयाँको लागतमा बनाइएको 'गो कार्ट' पेट्रोल इन्जिनबाट चल्छ ।  प्रतिलिटर २५ किलोमिटर माइलेज दिने उक्त सवारीको औसत गति ५० किमी रहेको विद्यार्थी निमबहादुर खत्रीले बताए । उत्सव उद्घाटन समारोह अघि जातीय सङ्घ संस्था, विद्यालय, खेलकुदका सङ्घ संस्थाहरू सहभागी र्‍यालीले धरान बजार परिक्रमा गरेको थियो । समारोह स्थलमा हेलिकप्टरबाट पुष्प गुच्छा झारिएको थियो ।