धरान : बराह सहकारी पीडित स्वतन्त्र समूहले फरार घोषित मुख्य सञ्चालकहरूले अहिले पनि खुल्ला रूपमा सामाजिक सञ्जाल मार्फत पीडितहरूमा भ्रम फैलाउने कार्य जारी राखेको हुनाले उनीहरूलाई तत्काल पक्राउ गर्न माग गरेका छन् ।

बराहलाई सङ्कटग्रस्त सहकारी घोषणा नगरी पीडितहरूको रकम फिर्ताको कानुनी प्रक्रिया परिणाममुखी रूपमा अघि नबढ्ने भएकोले धरान उपमहानगरपालिकासँग तत्काल ‘सङ्कटग्रस्त सहकारी’ घोषणा गर्न माग गरेका छन् ।

समूहद्वारा आज शनिवार रोटरी क्लबको भवनमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले फरार रहेका मुख्य सञ्चालकहरू शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, अमरबहादुर विश्वकर्मा, गङ्गा कालिकोटे लगायतका ‘गिरोह’लाई तत्काल पक्राउ गर्न माग गरेका हुन ।

पत्रकार सम्मेलनमा समूहका संयोजक शङ्कर थापा गाउँलेले उनीहरू खुल्ला रूपमा हिँडेर बराहको सम्पत्ति हिनामिना गर्ने, पीडितहरूलाई भ्रममा पारेर थप ठगी गर्ने गतिविधिमा संलग्न रहेको पाइएकोले तत्काल पक्राउ गर्न जरुरी भएको बताए ।

उनले भने ‘उनीहरू एजेन्ट लगाएर आफन्तका नाममा राखेका जग्गाहरू पीडितहरूलाई आधा रकम लगानीमा मिलाउने आधा नगद दिनु पर्ने भनी पीडितहरूलाई भ्रममा पारेर थप ठगी गर्ने गतिविधिमा लागेका छन् ।’

फरार सञ्चालकहरू काठमाडौँ लगायत विभिन्न ठाउँमा बसेर पत्रिका, सामाजिक सञ्जालको माध्यमबाट अहिले पनि खुल्ला गतिविधि गरिरहेको पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा दाबी गरिएको छ ।

सहकारीको १४ अर्ब रुपैयाँ अपचलन गरेको मुद्दामा फरार सुचीमा रहेका व्यक्ति शिव लामिछानेले असारको ‘अग्निचक्र’ मासिक पत्रिकामा अन्तर्वार्ता प्रकाशित गरी सामाजिक सञ्जालमा समेत प्रचार गरेको विज्ञप्तिमा उल्लेख छ ।

भनिएको छ ‘फरार व्यक्तिले फेसबुकमा समेत पोष्ट गरेर (राज्य सत्ता) नेपाल सरकारलाई मलाई कसैले केही गर्न सक्तैन भन्ने खुल्ला चुनौती दिएको महसुस गरेका छौँ ।’ त्यस्ता गिरोहका फरार गिरोहका व्यक्तिहरूलाई तुरुन्त कानुनको कठघरमा ल्याएर नेपालमा कानुनको राज छ भन्ने महसुस गराइयोस् भनी सरकारसँग विज्ञप्ति मार्फत माग गरिएको छ ।

बराह सहकारीमा रहेको ४९९१ शेयर सदस्य र विशेष बचतकर्ता १३३५४ को कुल १४०० सय करोड (चार अर्ब) साँवा, व्याज केही पनि नदिई हिनामिना गरेको विषयमा पछिल्लो पटक बचतकर्ताहरूले सुनसरी जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएपछि कानुनी कारबाही अघि बढेको छ ।

विज्ञप्ति अनुसार सहकारी सञ्चालकहरू माथि प्रहरीले ठगी, सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र हालै रेडकर्नर नोटिस जारी गर्ने प्रक्रिया सुरु गरिएको बुझिएको छ । तथापि बराह सहकारीलाई स्थानीय सरकार धरान उपमहानगरपालिकाले सङ्कटग्रस्त सहकारी घोषणा नगरी कानुनी प्रक्रिया प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताइएको छ ।

पत्रकार सम्मेलनमा संयोजक थापाले भने ‘सङ्कटग्रस्त सहकारी घोषणा नगर्दा सहकारीको सम्पत्ति थप हिनामिना हुने भएकोले नगर प्रमुख हर्क साम्पाङलाई हामीले थप आग्रह गरेका छौँ ।’ यसअघि पनि सहकारीलाई सङ्कटग्रस्त घोषणा गर्ने प्रस्ताव कार्यपालिका बैठकमा गरिएको थियो ।

आन्तरिक कारणले पहिले नै प्रस्ताव पारित नभए तापनि यसपालि भने वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरूलाई पनि बराहका बचतकर्ताहरूको हितका लागि सङ्कटग्रस्त सहकारी घोषणा गर्न आग्रह गरिएको थापाले बताए । उनले भने ‘यसपालि उपमहानगरपालिकाले सङ्कटग्रस्त सहकारी घोषण गरिदिए कानुनी कारबाही परिणाममुखी रूपमा अघि बढ्ने हामीले विश्वास लिएका छौँ ।’