धरान : सर्वसाधारण बचतकर्ताहरूको अर्बौ रुपैयाँ ठगीमा संलग्न बराह ग्रुप अफ कम्पनी र बराह सहकारीका सञ्चालक, कर्मचारी सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी राम प्रसाद तिम्सिनाले बताएका छन् ।
उनीहरूलाई सुनसरी जिल्ला अदालतबाट पक्राउको आदेश लिएर जिल्ला प्रहरी कार्यालयले पक्राउ गरिएको बताइएको छ । प्रहरीमा परेको उजुरीको आधारमा बराहका सञ्चालक र कर्मचारी उनीहरूलाई पक्राउ गरेको हो ।
प्रवक्ता डिएसपी तिम्सिनाले भने ‘कानुनी प्रक्रिया अनुसार पक्राउ परेकाहरूको नाम चाँडै सार्वजनिक गर्छौ ।’ बराह सहकारीका ठगीका बारे थप अनुसन्धान जारी रहेकाले पक्राउ गरिएकाहरूको नाम सार्वजनिक नगरिएको उनले बताए ।
प्रहरी कार्यालय सुनसरीले बिहीबार बराह सहकारीका अध्यक्ष मान बहादुर दियालीका श्रीमती विश्वकर्मा जतन माया दियाली, गङ्गा कालिकोटेकी श्रीमती सरिता कालिकोटे, लेखा संयोजक सुदिन ल्वागुन, ऋण उपसमिति सदस्य शेर बहादुर महत र एकाउन्न्ट अर्पण श्रेष्ठ, रबी पोर्तेल, अस्मिता भण्डारीलाई पक्राउ परेको उनीहरूका पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
बराह बचतका अध्यक्ष मान बहादुर र गङ्गा कालिकोटेका श्रीमतीहरूका नाममा सम्पत्ति रहेको र उनीहरूको नाममा समेत ऋण रहेकाले उनीहरूलाई पक्राउ गरेको बुझिएको छ ।
बचतकर्ताहरू बचत रकम पाउनु पर्ने माग गर्दै आन्दोलन गरिरहेका बेला बराहका सञ्चालकहरू पक्राउ गरिएको हो । शनिवार प्रहरीले पक्राउ गरे पनि व्यक्तिहरूको नाम भने प्रहरीले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन ।
बराह बचतकर्ता पीडितले भने प्रहरीले नाम सार्वजनिक नगरेकामा असन्तुष्टि जनाएका छन् । नाम सार्वजनिक नगर्दा छुट्ने र भाग्ने सम्भावना रहने उनीहरूको गुनासो छ ।
डुबेका सहकारीमध्ये धरानका वराह सहकारी र श्रेया सहकारी संस्थाहरूको रकम हिनामिनाबारे सरकारले गठन गरेको संसदीय छानबिन समितिले समेत प्राथमिकतामा राखेर अनुसन्धान गरेको छ ।
प्रहरीको केन्द्रीय निर्देशन अनुसार प्रहरीले सहकारी ठगीमा उजुरी परेकाहरूलाई अनुसन्धानका लागि धमाधम पक्राउ गर्न थालेको हो । धरानका ठुला सहकारी वराह बचत तथा ऋण सहकारी संस्था र श्रेया बचत तथा ऋण सहकारी संस्थाका सञ्चालकहरूले शेयर सदस्यहरूको बचत अपचलन गरेका कारण सहकारीहरू बन्द छन् ।