धरान : नगर प्रमुख हर्क साम्पाङले कोशी परियोजना सफल भए श्रमदान भन्दै मोटो रकम जुटाउन नपाउने भएकोले कोशीको पानी धरान ल्याउने ६ अर्बको अनुदान अस्वीकार गर्न खोजेको धरान-१६ का स्थानीय विनोद तिम्सिनाले सञ्चारकर्मीलाई बताएका छन् ।
उनले भने ‘हर्क साम्पाङले श्रमदान गरेर पानी ल्याए भन्छन् तर कहाँ ल्याए ?’ उनले प्रश्न गर्दै हिउँदमा मात्र पानी अभाव हुने हो धरानमा, अहिले बर्खामा पनि पानी अभाव भएकै कारण सबै जनताहरु ट्याङ्करबाटै पानी ल्याएर काम चलाउन बाध्य रहेको बताए । उनका अनुसार धरानमा पानी अभाव मात्रै होइन बर्खामा लेदो र कीटाणुयुक्त समेत आउने गरेको छ ।
तिम्सिनाले भने ‘मेयर व्यक्ति हो कि पद, पद भए त्यो पदको जस्तो काम भएको जस्तो लाग्दैन, पदमा बसेर हर्क साम्पाङ ए रेभुलेशन पेज मात्र चलाउने त्यसबाट मन्त्री, प्रधानमन्त्री र आलोचना गर्ने व्यक्तिहरूलाई मनपरी मात्र भन्ने काम मात्र गरेका छन् ।’
उनले भने ‘नगर प्रमुख धराने जनताका लागि नगरप्रमुख जस्तो भएनन् उनी अभियन्ता हर्क साम्पाङ जस्तो मात्र भए ।’ नगर प्रमुखको पद अनुसार काम  गरेनन्, बढी स्टन्ट मात्र भयो । तिम्सिनाले भने ‘स्थानीय सरकारले रोजगार सिर्जना गर्ने हो, श्रमिकहरूको रोजगार खोस्ने होइन ।’
नगर प्रमुखले नगरवासीलाई रोजगार सिर्जना गर्दै हजारौँलाई रोजगार प्रदान गर्नु पर्ने हो तर श्रमदानको नाममा उनले  दैनिक ज्यालादारी श्रमिकहरूको रोजगार खोसिरहेको उनको भनाई छ ।
प्रमुखका समर्थकहरूको गलत नियतले गर्दा श्रमदानमा कुसंस्कार, कुसंस्कृति भित्रिएको पाइएको तिम्सिनाले बताए । उदाहरण धरान-१६ नौलो बस्तीको बालिका यौन दुर्व्यवहार बनेको उनको भनाई छ । श्रमदानमा समर्थकहरूले निम्त्याएको सांस्कृतिक विचलन थुप्रै छन् तर मिडियामा नआएको बताउँदै भने ‘बिस्तारै आउँछ होला, श्रमदान भन्दै साम्पाङले भ्रमदान मात्र फैलाएका छन् ।’
धरानमा सुशासन छैन 
उनले धरानमा साम्पाङ धरानमा नगर प्रमुख साम्पाङ आएपछि सुशासन बिथोलिएको बताए । उनले भने ‘सुशासन ल्याउन प्रयत्नै गरेका छैनन्, सुशासन अनुरूपका कुनै काम नै गरेका छैनन्, उनी धरानेका लागि मेयर हुन सकेका छैनन् ।’ प्रमुख साम्पाङको काम अभियन्ताको मात्र भएको, व्यक्तिगत काममै उनी सीमित भएको उनले बताए । 
धरानमा २०४६ जनसहभागितामा
तिम्सिनाले धरानमा २०४६ साल देखि जनसहभागितामा काम हुँदै आएको कसैबाट नलुकेको बताए । सडक बाटो, कुल कुलेसो, ड्रेन बनाउँदा ६०/४० मा जनसहभागिता हुँदै आएको हो ।  श्रमदानमै कैयौँ पटक बाटो समेत बनेका छन् । तर अहिलेको जस्तो श्रमदान गरेर भ्रम फैलाउने काम भएको थिएन । 
श्रमदानबाट बनेको दाबी गरिएको जलाधारमा बनेका पार्क गैरकानुनी भएको उनले बताए । तिम्सिनाले भने ‘धरान-१३ मा जलाधार क्षेत्रमा बनेको विभिन्न प्रकारका पार्कहरू गैरकानुनी छन् ।’
उनले प्रश्न गरे ‘मेयर साबले आफै सर्वोच्चमा सर्दु जलाधारको मुद्दा विचाराधीन रहेको भन्दै घरधुरी कर सङ्कलन गर्न दिएका छैनन्, तर त्यही जलाधार क्षेत्रमा पार्क बनाउनु कति उचित छ ?’
आर्थिक पारदर्शिता छैन 
हरेक श्रमदानमा आर्थिक अनियमितता रहेको उनले बताए । आर्थिक नियमितताको लागि विधि पद्धति नै नअपनाएपछि कहाँबाट पारदर्शिता हुन्छ ? प्रश्न गर्दै तिम्सिनाले बेसार उद्योगमा समेत अनियमितता भएको बताए ।
उनका अनुसार ४ सय रुपैयाँ केजीको बेसार ८ सय रुपैयाँ केजीमा विक्री वितरण भई रहेको छ । ४ सय रुपैयाँ कसलाई फाइदा हुदैछ ? बिचौलियालाई पैसा कमाउने माध्यम मात्रै भएको उनको भनाई छ । तिम्सिनाले प्रश्न गरे ‘बेसार उत्पादन गर्ने कृषकले त्यो महँगो भाउको लाभ पाएको छ ?’
जनताको लागि अमेरिकाले पनि ऋण लिन्छ 
अमेरिका जस्तो शक्तिशाली देशले त जनताको माग पुरा गर्न ऋण लिएको उदाहरण छ । तर धरानका नगर प्रमुख अनुदानलाई ऋण भन्दै भ्रामक हल्ला गरी धरानवासीलाई धोका दिन खोजिरहेको उनले बताए ।
उनले प्रश्न गरे ‘अनुदानको रकमलाई ऋण भन्दै जनतालाई भ्रम छर्ने कस्ता मेयर हुन ?’ अनुदानका लागि छलफल समन्वय गर्नु पर्दैन ? जनतालाई सुविधा प्रदान गर्न १५ प्रतिशत ऋण तिर्न नसके संस्थागत रूपमा समन्वय गरे धराने जनताबाटै रकम सङ्कलन हुने तिम्सिनाले बताए ।
उनले भने ‘संस्थागतरुपमा बैङ्क खाता खोलेर आव्हान गरे १५ प्रतिशत रकम तिर्न धरानवासी तयार हुने कुरामा कुनै शङ्का छैन ।’