धरान: कोशी प्रदेश सभाका सांसद विजयकुमार राईले धरानमा भइरहेका गलत कार्यहरूको ढाकछोप गर्न पत्रकारहरूलाई सुनियोजित रूपमा धम्क्याउने काम भइरहेको बताएका छन् ।

राज्यको प्रहरी, प्रशासन यसप्रति गम्भीर हुनुपर्ने बताउँदै स्वतन्त्र प्रेसको दायित्व निर्वाह गर्न पत्रकारहरू हतोत्साहित हुन नहुने कुरामा जोड दिए ।

प्रेस चौतारी नेपालको २०८२ सालको भित्ते पात्रो विमोचन कार्यक्रममा मङ्गलवार सांसद राईले स्थानीय सरकार प्रमुखबाटै गलत कार्यका समाचार बाहिर ल्याउने मूलधारका पत्रकार, सञ्चारकर्मीलाई धम्क्याउने, फेसबुकबाट गालीगलौज गर्न आफ्ना समर्थकहरूलाई प्रोत्साहित गरिरहेको बताए ।

उनले श्रमदानको नाममा श्रमदान भइरहेको छ, बालिकासँग यौन दुर्व्यवहार, श्रमदान भनेर नगरपालिकाका कोषबाट डोर हाजिरीको भुक्तानी भएको कुरा पत्रकारहरूले बाहिर ल्याएको बताए । उनले भने ‘सत्य तथ्य समाचार लेख्न पत्रकारहरू हतोत्साहित नुहुनुहोस्, राज्यले तपाईँहरूको सुरक्षा गर्नु पर्छ ।’

प्रदेश सभाका अर्का सांसद रमेश बस्नेतले सङ्घीयता र गणतन्त्रलाई बदनाम गराउन खोज्नेहरू प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कार्यमा लागेको बताए । अभिव्यक्ति स्वतन्त्रताको नाममा सामाजिक सञ्जाल मार्फत असामाजिक, सद्भाव भड्काउने अश्लील गालीगलौज गर्ने कार्य नेतृत्व तहबाटै हुने गरेको बताउँदै उनले भने ‘राज्यको कानुन उल्लंघ गर्नेहरूप्रति प्रहरी, प्रशासन गभ्भिर जरुरी भएको छ ।’
वरिष्ठ पत्रकार हर्ष सुब्बाले नेपालमा पत्रकारहरू असुरक्षित रहेको संवेदनशील उदाहरण धरान बनेको बताए । सामाजिक सञ्जालमा आक्रमण हुँदै आएको पत्रकार र मिडिया माथी समाचार संकलस्थलमै समूहबाटै हातपातको प्रयास सम्ममा पुगेको हालैको घटना उदाहरण भएको उल्लेख गरे ।
प्रेस चौतारी सुनसरी अध्यक्ष विकास चाम्लिङ राईले स्वतन्त्र रूपमा समाचार सङ्कलन गर्ने कार्यमा अवरोध, प्रेस स्वतन्त्रता माथी भइरहेको हमलाका घट्नाहरुमा संलग्नहरुलई कानुनी कारबाही गराउन प्रेस चौतारी अग्रसर रहने प्रतिबद्धता जाएन ।
उनले समाचार सङ्कलनमै अवरोध गर्नेहरूलाई कारबाही गराउन पत्रकार महासङ्घ सशक्त रूपमा अघि बढ्नु पर्नेमा जोड दिए । कार्यक्रममा महासङ्घका जिल्ला अध्यक्ष सन्तोष काफ्ले, पूर्व अध्यक्षहरू जनक ऋषि राई, राजेश विद्रोही, वर्तमान सचिव विनय बाह्र कोटी, प्रेस सेन्टरका अध्यक्ष तीर्थ कार्की उपस्थित थिए ।
यस अघि धरान–१० स्थित ड्रिमल्याण्डा होटेलमा चौतारीका केन्द्रीय, प्रदेश तथा जिल्लाका पदाधिकारी सहितको विस्तारित बैठक बसेको थियो । बैठकले धरानमा पत्रकारहरूको असुरक्षा, प्रेस स्वतन्त्रतामा उत्पन्न चुनौतीलाई गम्भीर रूपमा लिँदै पत्रकार महासङ्घको नेतृत्वमा सशक्त रूपमा अघि बढ्ने निष्कर्ष निकालेको बताइएको छ ।
press-chautari