• केदार बस्नेत

कतार : गैरआवासीय नेपाली सङ्घ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. बद्री केसीले सङ्घलाई ठेकेदार मुक्त गरी स्वायत्त संस्था बनाउने  दाबी गरेका छन् ।

कतार स्थित क्राउन प्लाजा होटेलमा बिहीबार र शुक्रवार सम्पन्न भएको गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसीसी) कतारको ११ औँ राष्ट्रिय अधिवेशनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि डा. केसीले एनआरएनए अब विधि र विधानमा चल्ने भन्दै कसैको ठेकेदारीमा नचल्ने बताएका छन् ।

उनले भने –‘विभिन्न राजनीतिक र व्यावसायिक समूहले एनआरएनएलाई नियन्त्रण गर्न जुन ट्र्याक बसालेका थिए त्यो ट्र्याकबाट बाहिर ल्याएर एउटा स्वतःस्फूर्त चल्ने स्वायत्त संस्था बनाएर दिने जिम्मेवारी मेरो हो र म यो जिम्मेवारी पुरा गर्छु ।’

एनआरएनएमा सदस्यता बन्न विधि तय गरेको र महाधिवेशनमा जाने प्रतिनिधिको योग्यता विधानमा व्यवस्था गरिएको र प्रतिनिधि चयन प्रक्रियालाई समेत विधानमा नै व्यवस्था गरिएको लगायतका विषयमा संस्थामा ठुलो रिफर्मेसन गरेको भन्दै उनले भने –‘अब चाही एनआरएनमा पैसाको खोलो बगाएर, गुण्डागर्दी गरेर, राजनीतिक दललाई प्रभावमा पारेर अथवा काठमाडौँमा मान्छेलाई भोज खुवाएर एनआरएनको नेतृत्वमा पुग्न सकिँदैन, यही हो हाम्रो उपलब्धि ।’

एनआरएनए एनसिसि कतारको अध्यक्षमा पदम गिरी

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसि) कतारको अध्यक्षमा पदम गिरी सहित कार्य समिति सर्वसम्मत रूपमा चयन भएका छन् ।

त्यस्तै गरी प्रथम उपाध्यक्षमा रोशन अर्याल, द्वितीय उपाध्यक्षमा सुवाससिंह थापा, तृतीय उपाध्यक्षमा लीला राई, युवा उपाध्यक्षमा टङ्कबहादुर विक र महिला उपाध्यक्षमा रामकुमारी तामाङ चयन भएका छन् ।

सचिवमा खेमराज सुवेदी, इसिलाल पण्डित र शङ्करमान राई, कोषाध्यक्षमा प्रेमकुमार राई र सहकोषाध्यक्षमा मो. आजात मन्सुर चयन भएका छन् । यही बिहीबार र शुक्रवारसम्म चलेको ११ औँ अधिवेशनले २०२५-२०२७ कार्यकालकालागी समिति चयन गरेको हो ।

कार्यक्रमको अवसरमा कतारको श्रम मन्त्रालयका अधिकारी तथा कतारमा सक्रिय नेपालीहरूका विभिन्न सङ्घ संस्थाका प्रतिनिधीहरुले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

त्यसैगरी कलाकारहरूले नृत्य तथा गायनको प्रस्तुति दिएका थिए भने कतारमा रहेर विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

NRNA-qatar