इटहरी : सञ्चारिका समूह सुनसरीले तीज विशेष कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । आइतबार इटहरीको दुर्गा पार्टी प्यालेसमा सञ्चारकर्मीहरू सँग दर खाएर समूहले तीज मनाएको हो ।

नेपाली काँग्रेस प्रदेश सहमहामन्त्री डाक्टर प्रमीला गच्छदारको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सुनसरी भरिका सञ्चारकर्मी तथा सञ्चार उद्यमीले सहभागिता जनाएका थिए ।

महिला पत्रकारहरूको साझा संस्था सञ्चारिक समूह सुनसरीले पत्रकारिताको व्यावसायिक विकासमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ । तीज विशेष कार्यक्रम मार्फत पत्रकारहरूलाई जोड्ने र पत्रकारिताका मुद्दाहरूलाई थप बलियो बनाउने उद्देश्य लिइएको अध्यक्ष रञ्जना पौडेलले बताइन् ।

लामो समयदेखि आफ्नो जिम्मेवारीमा व्यस्त भइरहेको अवस्थामा केही समय भए पनि साथीहरू बिच भाइचारा अभिवृद्धि गराउनको लागी कार्यक्रम आयोजना गरिएको उनको भनाइ छ ।

प्रमुख अतिथि गच्छदारले महिलाहरू सक्षम हुँदै गएको बताउँदै आर्थिक रूपमा थप प्रभावशाली बन्नुपर्ने सुझाव दिइन् ।बिना सङ्कोच पत्रकारितामा गर्नुपर्ने पुरातन विचारलाई बेवास्ता गर्दै सक्षम बन्ने बाटोमा लाग्नुपर्ने बताइन् ।

कोशी प्रदेश सभाबाट पत्रकारितालाई असर पर्ने कानुन पारित हुन लागेको प्रति सचेत गराउँदै उनले आफ्नो पार्टी नेपाली काँग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दाबी गरिन् ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस युनियन अध्यक्ष ध्रुव ढकाल, माया घर नेपालकी सञ्चालिका सुभद्रा प्याकुरेल लगायतले सम्बोधन गरेका थिए । दिउँसो १ बजेदेखि चलेको दर कार्यक्रम साँझ ५ बजेसम्म चलेको थियो ।

sancharika-samuha