धरान, ४ जेठ

धरान उपमहानगरपालिका वडा नं. ८ स्थित श्री हिमालय महायान रिन्छेन छ्योलिङ बुद्धिष्ट गुम्बाका लामा गुरु खेन्पो तेन्जिङ वाइवा तामाङ सम्मानित भएका छन् । उनलाई भेन खेन रिम्पोछे जस्तो महान उपाधि प्राप्त गर्न सफल भएको भन्दै खदा र प्रमाण–पत्र प्रदान गरी गुम्बाले सम्मान गरेको हो । दक्षिण भारतको कर्नाटक राज्यको मैसुर जिल्लास्थित नागागुर निङमा इन्स्टिच्युटले उनलाई भेन खेन रिम्पोछेको उपाधि प्रदान गरेको हो । लोपेन प्राप्त गर्नका लागि करिव १७ वर्ष, खेन्पो प्राप्त गर्नका लागि थप ५ वर्ष र भेन खेन रिम्पोछे प्राप्त गर्न थप १० वर्ष उनले बौद्ध दर्शन र ज्ञानको अध्ययन् गरेका हुन् । यो उपाधि प्राप्त गर्ने उनी नेपालका तामाङ जाति मध्ये कै पहिलो भएका छन् । मकवानपुरको कुलेखानीवाट आठ वर्ष अघि धरानस्थित श्री हिमालय महायान रिन्छेन छ्योलिङ बुद्धिष्ट गुम्बामा आएका उनले गुम्बामा हुने विभिन्न पूजा पाठ, नियमित तथा विभिन्न अवसरमा हुने प्रवचन र गुम्बामा अध्ययनरत लामा विद्यार्थीहरुको शिक्षा दिक्षामा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ ।
गुम्बाका अध्यक्ष हर्क गोलेको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा नेपाल तामाङ घेदुङका राष्ट्रिय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रिय सदस्य एवम् गुम्बा संरक्षक मैतबहादुर गोले, एक नं. प्रदेशका उपाध्यक्ष रामबहादुर ग्यावा, पूर्व जिल्ला सदस्य चन्द्रशेखर लामा, धरान नगर अध्यक्ष प्रेम वाइवा, पूर्व नगर अध्यक्ष जयबहादुर मोक्तान, आजिवन सदस्य नन्दलाल पाख्रिन, नेपाल तामाङ महिला घेदुङका सुनसरी अध्यक्ष विष्णु मोक्तान, धरान नगर अध्यक्ष नन्दु पाख्रिन, आङी समूहका अध्यक्ष पूर्णिमाया गोले, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ धरानका पूर्व अध्यक्ष रमला पाख्रिन, बौद्ध दाहसंस्कार धरानका पूर्व अध्यक्ष रामबहादुर बम्जन लगायतले बधाई तथा शुभकामना दिएका थिए ।