इटहरी : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशका प्रवक्ता विजयकुमार राउतले पार्टी परित्यागको घोषणा गरेका छन् ।
राप्रपाको प्रेस सङ्गठन"मिडिया नेपाल"का प्रदेश अध्यक्ष समेत रहेका राउतले पार्टी कार्यदिशा र मुख्य सिद्धान्त विपरीत चलेको भन्दै राजीनामा दिएका हुन्।
प्रतिनिधि सभाको उपसभामुख पदमा राप्रपाले उम्मेदवारी दिएको विषयमा असन्तुष्टि व्यक्त गर्दै पार्टी त्यागको घोषणा गरेका हुन् ।
सामाजिक सञ्जालमार्फत राजीनामा दिएका उनले आफ्ना मौलिक एजेन्डाहरू, संवैधानिक राजसंस्था, हिन्दुअधिराज्य, राजनीतिक स्थिरता, राष्ट्रियता, सुशासनलाई सुदृढ बनाउँदै अघि बढ्नुपर्ने भएपनि पार्टीको कार्यदिशा र निर्णय एजेन्डा विपरीत उन्मुख हुँदै गएको बताए ।
वर्तमान राजनीतिक परिवेशमा उपसभामुख पदमा उम्मेदवारी दिने निर्णयले पार्टीको वैचारिक धरातल मात्र होइन, समग्र राष्ट्रिय राजनीतिक स्थिरतालाई समेत कमजोर बनाउने सङ्केत गरेको राउतको भनाइ छ ।
पार्टीप्रति आफ्नो समर्पण र योगदान हुँदाहुँदै पनि राष्ट्र हितलाई सर्वोपरि राख्ने सिद्धान्तअनुसार यस्तो निर्णयलाई स्वीकार गर्न आफू असमर्थ रहेको प्रस्ट पारेका छन् ।
उनले लेखेका छन्,'आजकै मितिबाट राष्ट्रिय प्रजातन्त्र पार्टीको कोशी प्रदेश प्रवक्तासहित सम्पूर्ण पद, जिम्मेवारी तथा साधारण सदस्यताबाट औपचारिक रूपमा राजीनामा दिएको जानकारी गराउँछु।