धरान : काठमाडौँ स्थित हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिसा खम्बुलाई संयुक्त राष्ट्र सङ्घको मान्यता प्राप्त अमेरिकी संस्था ‘द गिफ्ट अफ चेस’ ले ‘नेपालको लागि एम्बासडर’ घोषणा गरेको छ ।
न्यूयोर्क मुख्यालय रहेको गिफ्ट अफ चेसले आफ्नो एक्स र इन्स्टाग्राम अकाउन्टमा बिहीबार खम्बुलाई एम्बासडर नियुक्त गरिएको घोषणा गरेको हो । घोषणासँगै ३४ वर्षीया खम्बु नेपाली चेसमा अन्तर्राष्ट्रिय संस्थाको पहिलो एम्बासडर बनेकी छन् ।
बोर्डभित्र र बाहिरका उपलब्धिका लागि मोनालिसा खम्बुलाई एम्बासडर चयन गरेको गिफ्ट अफ चेसले जनाएको छ । उनको चेसमा दुई दशक बढी यात्राको कथा पोष्ट गर्दै गिफ्ट अफ चेसले खम्बुको माध्यमबाट नेपालका विद्यालय, जेल र सामुदायिक केन्द्रमा १ हजार चेस सेट वितरण गर्ने पनि उल्लेख गरेको छ ।
२०२० डिसेम्बरमा स्थापित परोपकारी संस्था गिफ्ट अफ चेस सन २०३० सम्म विश्व भरी १० लाख चेस सेट वितरण गर्ने अभियानमा छ । उसले ७० देशमा २ लाख चेस सेट वितरण गरिसकेको जनाएको छ ।
खम्बु महिलातर्फ कीर्तिमानी पहिलो राष्ट्रिय चेस च्याम्पियन, हईएस्ट रेटेड खेलाडी ९फिडे रेटिङ १८७७०, पहिलो इन्टरनेसनल आबिर्टर हुन । १४ वर्षकी छँदै एसियन गेम्स सन २००६ दोहामा देशको प्रतिनिधित्व गरेकी उनले एसियन गेम्स २ पल्ट, इन्डोर एसियन गेम्स ३ पल्ट, चेस ओलम्पियाड ३ पल्ट खेलेकी छन् ।
उनी चेस ओलम्पियाड सन २०२२ चेन्नाईमा आर्बिटर बन्ने पहिलो नेपाली महिला पनि हुन । नेपाल चेस महासङ्घमा उपमहासचिव रहेकी उनी विश्व चेस महासङ्घको फिडे कमिसन फर वुमेन्स चेसकी सदस्य पनि हुन ।
उनले दुई वर्षअघि हिमालयन चेस एकेडेमी स्थापना गरेयता २ सय बढीलाई थापाथलीस्थित आफ्नै चेस हलमा प्रशिक्षण दिइसकेको छ । एकेडेमीले स्कुल, समुदाय, महिलासहित अटिजम प्रभावितलाई समेत नियमित चेस ट्रेनिङ दिइरहेको छ ।
दुई वर्षभित्रै क्लासिकल,र्यापिड,ब्लिज र पजल सोल्भिङ गरी चेसका १४ प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको एकेडेमीले करिब तीन दर्जन प्रतियोगिताको व्यवस्थापन पनि गरेको छ ।