काठमाडौं, २० जेठ । सुन तस्करीका मुख्य लगानीकर्ता तथा विमानस्थलमा एसएसपी श्याम खत्री र गोरेको सेटिङ मिलाउने, थाई एयरबाट सुन तस्करीको नयाँ उपाय निकाल्ने छिरिङ घले (डेबिट)ले जिल्ला अदालत मोरङमा आइतबार आत्मसर्मण गरेका छन् ।

आत्मसमर्पण गरेका डेबिटको अदालतमा बयान सुरु भइसकेको छ । तस्करीको सबै व्यवस्था मिलाउने डेबिट लगानीकर्ता मध्येका भुजुङ गुरुङका सालो हुन् । डेबिटले नै हराएको सुन पत्ता नलगाए नछाड्ने भनी गोरेलगायतलाई धम्क्याएका थिए ।

डेबिटको आत्मसमर्पणपछि विमानस्थलमा हुने तस्करीको तरिका, त्यसमा संलग्न विमानस्थलका कर्मचारी, प्रहरीको संलग्नताको गहिरो तथ्य पत्ता लाग्ने अनुमान गरिएको छ ।

सनम शाक्य हत्याका पनि प्रमुख अभियुक्त रहेका चुडामणि उप्रेती गोरेको पक्राउसँगै सुन तस्करीमा फरार अभियुक्त जिल्ला अदालतमा सिधै उपस्थित भई आत्मसमर्पण गर्न थालेका छन् ।
यसअघि खत्री सिधै अदालत पुगेका थिए । उनलाई अदालतले पूर्पक्षका लागि थुनामा पठाइसकेको छ ।

त्यसो भए कसले उडायो साढे ३३ किलो सुन ?

धेरैको अनुमान थियो सम्पर्कमा नरहेका डेबिटको योजनामा नै साढे ३३ किलो तस्करीको सुन अनामनगरबाट लुटिएको थियो । डेबिटलाई भुजुङले दिएको निर्देशनका आधारमा सुन सोही समुहले लुटेको बताइएको थियो । डेबिटको आत्मसमर्पणले सुनबारे पत्ता लाग्ने देखिँदैन ।

सनमकी प्रेमिका निशा सेन ठकुरीको बयानलाई आधार मान्ने हो भने रोशन श्रेष्ठलगायतको समुहले सुन तस्करीको योजना बनाएका थिए जुन डेबिटद्वारा परिचालित केटा थिए । उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।