धुलावारी : नेकपा एमालेबाट निर्वाचित मेचीनगर वडा नं. २ का वडाध्यक्ष तिलक न्यौपाने मदिरा सेवन गरेर लठ्ठ भएको अवस्थामा सार्वजनिक स्थलमा पटकपटक भेटिएपछि उनको सामाजिक सञ्जालमा चर्को टिकाटिप्पणी भइरहेको छ ।

बुधवार विदाका दिन आफ्नै वडा कार्यालय जाने सडकमा उनी मातेर घोप्टो परेको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

टिप्पणी गर्नेहरु अधिकांशले वडाध्यक्ष न्यौपानेलाई गाली गरेका छन् भने उनको तस्वीरलाई मजाकको विषय बनाउँदै नकारात्मक धारणा पोस्ट गरेको पाइएको छ ।

तर, काँकरभिट्टाका युवा अर्जुन राईले अरुको भन्दा भिन्न धारणा आफ्नो फेसबुक वालमा पोस्ट गरेका छन् । जसले धेरै मानिसलाई सोच्न बाध्य बनाएको छ ।

नेपाली काङ्ग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलको झापा क्षेत्र नं. १ का सभापति राईले वडाध्यक्ष न्यौपानेको मातेर लडेको तस्वीरलाई भाइरल बनाएर मजाकको विषय बनाइएकोमा आपत्ति प्रकट गरेका छन् ।

उनले वडाध्यक्ष न्यौपाने पटकपटक मदिरा सेवन गरेर मात्ने गरेको विषयलाई नकारात्मक टिप्पणी नगर्न र राजनीतिक प्रतिशोध साध्ने माध्यम नबनाउन समेत आग्रह गरेका छन् ।
युवा नेता राई मेची युथ फाउन्डेसन तथा नवयात्रा पुनस्र्थापना केन्द्र काँकरभिट्टाका संस्थापक समेत हुन् ।

राईले मादक पदार्थ सेवन गर्ने बानी एउटा रोग भएको जनाउँदै विश्व स्वास्थ्य सङ्गठनले सन् १९५६ मा यसलाई रोग प्रमाणित गरे तापनि हालसम्म नेपालीहरु अनविज्ञ रहेको धारणा व्यक्त गरेका छन् ।
उनले वडाध्यक्ष राईलाई शीघ्र उपचारमा पुर्याएर सहयोग गर्न अनुरोध गरेका छन् ।
युवा नेता राईको पोस्टमा कमेन्ट गर्नेहरुले वडाध्यक्ष न्यौपानेलाई उपचारमा लैजानु पर्ने खाँचो औल्याएका छन् ।
एक जना कमेन्टकर्ता पोखरेलजीले राईको विचार सान्दर्भिक र यथार्थपरक भएको बताएका छन् ।
‘उहाँलाई अब उपचारको खाँचो छ’, पोखरेलजी कमेन्टमा बक्समा लेख्छन्–‘ त्यसका निम्ति नगरपालिका र सम्बन्धित वडा कार्यालयले तदारुकताका साथ उपचारको पहल गर्नु पर्छ ।’

अर्का कमेन्टकर्ता राजेश भट्टराई यस्ता विषयलाई कुनै राजनीतिक दाउपेचको विषय बनाउन आग्रह गरेका छन् ।

अर्का कमेन्टकर्ता रुपसागर अधिकारीले समेत उपचारको खाँचो औल्याृउँदै लेखेका छन्–‘सबैले खान्छन्, तर उहाँलाई चाहिँ त्यसैले खाए जस्तो छ ।’

कमेन्टकर्ता भुवन मानले अर्जुन राईको तर्कलाई समर्थन जनाएका छन् ।

नेकपा र नगरपालिका मौन
मेचीनगर । मेचीनगर–२ का वडाध्यक्ष तिलक न्यौपानेको सार्वजनिक स्थलमा मदिराले मात्ने घटना दोहोरिन थाले पनि उनलाई सुधार्न नेकपा र नगरपालिकाले कुनै पहल गरेको छैन ।

स्थानीय तहको चुनावमा न्यौपाने नेकपा एमालेबाट उम्मेद्वार बनेर निर्वाचित भएका थिए ।
उनले नेपाली काङ्ग्रेसका उम्मेद्वार हिम्मत क्षेत्री र माओबादीका उम्मेद्वार उत्तम सिटुङलाई पराजित गरेका थिए ।

नेकपाको प्रतिनिधित्व गरेका वडाध्यक्षलाई पटकपटक मातेर सडक तथा कार्यकक्षमै भेटिएका समाचार सार्वजनिक हुँदा समेत उनको पार्टीले सुधार केन्द्रमा लैजाने वा उनलाई पदबाट हटाउने कुनै कदम चालेको छैन ।

मेचीनगर नगरपालिकाको कार्यपालिका बैठकमा वडाध्यक्ष न्यौपानेको विषयमा प्रश्न उठाएर छलफल गर्ने गरिएको स्रोतले जनाएको छ ।

‘कार्वाही गर्ने हाम्रो अधिकार छैन’ भन्दै नगरका प्रमुख र उपप्रमुख पन्छिने गरेको स्रोत बताउँछ ।
तर वडाध्यक्षको बानी सुधारका लागि सुधार केन्द्रमा लैजाने विषयमा नगरपालिकाले हालसम्म सोच बनाएको छैन ।
एउटा जनप्रतिनिधिको यस्तो हालत हुँदा नेकपा र नगरपालिकाले रमिता हेर्ने कार्यलाई उचित मानिएको छैन ।

‘कि त पदबाट राजीनामा गराउनु पर्यो कि त उपचार गरेर स्वस्थ बनाउनु पर्यो’ भन्ने आवाज जनस्तरमा उठ्ने गरेको छ ।

स्थानीय जानकारहरुका अनुसार वडाध्यक्ष न्यौपाने पुराना जनप्रतिनिधि हुन् । उनको मदिरा पिउने बानी पनि पुरानै हो ।

मदिरा पिउने बानी बारे चुनावको उम्मेद्वार बनाउने बेलामा समेत कार्यकर्ताहरुले सवाल उठाएका थिए । तर चुनावको एक महिना अघिदेखि २ महिनासम्म उनले मदिरा पिउन छाडेका थिए ।

एमालेमा युवराज कट्टेल, दिपक बराल लगायतका सशक्त कार्यकर्ता उम्मेद्वार बन्ने दौडमा भए पनि त्यसबेला न्यौपानेलाई नै एमालेले उम्मेद्वार बनाएको थियो ।