झापा : जिल्ला प्रहरी कार्यालय झापाले देशकै नमुना शान्ति सुरक्षा ब्यवस्थापनका लागि कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक(एसपी) भिमप्रसाद ढकालले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरी भाद्र २१ गतेदेखि उक्त कार्यक्रम सुरु गर्ने बताउनु भएको हो । देशका विभिन्न जिल्लामा घटेका अपराधिक क्रियाकलापलाई मध्यनजर गर्दै झापा जिल्लाबाट यो कार्यक्रमको सुरुवात हुन लागेको प्रहरी उपरीक्षक ढकालले बताउनुभयो । करिब ६ महिना अघि काठमाण्डौको कानुन शाखाबाट सरुवा भई झापा आउनु भएका एसपी ढकालले पहिलो पटक सञ्चारकर्मी भेटघाट कार्यक्रम आयोजना गरी सुरक्षा व्यवस्थापन तथा योजनाबारे जानकारी दिनुभएको हो ।
यौनजन्य हिंसाका घटना जिल्लामा दिनानुदिन घटिरहेको सन्दर्भमा २ महिनाको अभियानलाई पाइलट योजनाको रुपमा सञ्चालन गरीने एसपी ढकालको भनाई थियो । सुदृढ शान्ति सुरक्षाका लागि “प्रारम्भिक सुरक्षा अभिमुखिकरण अभियान” नाम दिएर प्रहरीले अभियान थालनी गर्न लागेको छ । यो अभियानबाट झापा जिल्लाका बिषेस गरी नगदी कारोवारसँग र नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएका सरकारी कार्यालय ३ सय ३१, गैह्रसरकारी कार्यालय २ सय ६, बैँक १ सय ६०, अन्य बित्तिय सँस्था ४ सय ७, सुनचाँदी पसल ६ सय २१, डिपार्टमेन्ट स्टोर १७, उद्योग कल कारखाना १ सय २१, प्रतिष्ठान ५८, शैक्षिक संस्था ५ सय ६३ प्रत्यक्ष लाभान्वित हुने अपेक्षा राखिएको छ ।
यो अभियानले विभिन्न निकाय, संघसस्था, कार्यालयहरु र प्रहरीबीच वलियो समन्वय र सहकार्य भइ जिल्लाको शान्ति सुरक्षा र अमनचयन कायम हुने बिश्वास लिइएको छ । यो कार्यक्रम अन्तर्गत सुरक्षा गार्डको योग्यता, दक्षता बुझ्ने तथा प्रतिनिधिमुलकरुपमा करिव १ हजार जनालाई प्रारम्भिक सुरक्षा तालिम प्रदान गरिने प्रहरी उपरीक्षक ढकालले जानकारी दिनुभयो । साथै सम्पुर्ण निकायका प्रतिनिधि र स्थानिय तहका प्रमुख, उपप्रमुखलाई सुरक्षा पुरा गर्न प्रारम्भिक मापदण्डबारे छलफल तथा अन्तक्रिया पनि हुने बताइएको छ ।
कार्यक्रम सञ्चालन गर्न जिल्ला प्रहरी कार्यालय र ७ वटा इलाका प्रहरी कार्यालयमा ब्यवस्था मिलाइने छ । तालिम सञ्चालनका लागि ११ जना तालिम प्राप्त प्रहरी अधिकृत खटाइनेछ भने विभिन्न निकायहरुसँग सुरक्षा समन्वय गर्न जिल्ला प्रहरी कार्यालयमा छुट्टै सुरक्षा समन्वय डेस्क पनि स्थापना गरिने एसपी ढकालले जानकारी दिनुभयो ।