धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका फोरेन्सिक विभागका अत्यन्त विवादित चिकित्सकलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको उपकुलपति बनाउन चलखेल भइरहेको छ ।
संघीय समाजवादी फोरमका अध्यक्ष एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको निकट रहेका चिकित्सक डा.बिश्वनाथ(बिएन) यादवलाई न्याम्सको उपकुलपति बनाउने तयारी भइरहेको हो । बिएन यादव र स्वास्थ्य मन्त्रीबीच निकट सम्बन्ध रहेको छ । दुवै नातेदार पनि भएको जानकारहरु बताउँछन् । फोरम नेता यादव स्वास्थ्य मन्त्री भएपछि उनको दबाबमा बि.एन.लाई बीपी प्रतिष्ठानको सिनेट सदस्य बनाइएको थियो । अहिले तिनै यादव न्याम्सको उपकुलपतिको लाममा छन् । स्वास्थ्यमन्त्रीको निकट भएको कारण उनी न्याम्समा उपकुलपति बन्ने लगभग पक्का भएको जानकारहरुले बताएका छन् ।
डा. यादव बीपी प्रतिष्ठानका विवादित डाक्टरहरुमध्येका एक हुन् । स्थापनाकालदेखि नै कार्यरत उनी रिटायर हुने बेला पनि भइसकेको छ । २०६५ सालमा आफु विदामा बसेको बेला गरिएको पोष्टमार्टमको रिपोर्टमा सही गरेपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमार्फत करिब ३ महिना निलम्बनमा परेका थिए । २०६५ मंसिर १३ देखि निलम्बनमा परेका यादवको फागुन १९ गतेमात्र फुकुवा भएको थियो । दुई साता लामो विदामा बसेको समयमा विवादित शवको पोष्टमार्टम रिपोर्टमा सही गरेका कारण उनीमाथि ठुलो आर्थिक रकम लिएको गम्भीर आरोप लागेको थियो । आफु संलग्न नभएको पोष्टमार्टमलाई प्रमाणित गर्न मिल्दैन । तर, उनी आफु विदामा भएको बेला गरिएको पोष्टमार्टममा सही गरेपछि विवादित बनेका थिए ।
प्रतिष्ठान स्रोतका अनुसार त्यसबेला सिमेन्ट कारखानामा काम गर्ने भारतीय मजदुरको जलेर रहस्यमय मृत्यु भएको थियो । उनले उक्त पोष्टमार्टम रिपोर्टमा सही गरेका थिए । तर पोष्टमार्टम भएको बेला डा. यादव भने विदामा थिए । ‘ठुलो आर्थिक लेनदेन भएको आरोप लाग्यो, मिडियाहरुमा पनि समाचार छापियो । अख्तियारले छानबिन गर्दा उनी निलम्बनमा परे,’स्रोतले भन्यो । विदामा बसेर विवादास्पद शवको पोष्टमार्टम प्रमाणित गरेका यादवले पोष्टमार्टम गरेवापत भत्तासमेत लिएका थिए । घटनाको छानबिन पछि अख्तियारले कार्यालयमा अनुपस्थित भएको बखत लाश पोष्टमार्टम प्रमाणित गरी अनियमित कार्य गरेको देखिदा आइन्दा अनुपस्थित रहेको समयमा यसप्रकारको कार्य नगर्न ध्यानाकर्षण गराउदै प्रतिष्ठानलाई पत्राचार गरेको थियो । ‘अख्तियारमा धाएको धायै गरेर केस मिलाए । आफु नभएको बेलाको पोष्टमार्टम प्रमाणित गरेको पनि पुष्टि भयो । अख्तियारको ध्यानाकर्षण पत्र पाएपछि मात्र निलम्बन फुकुवा भयो,’स्रोतले भन्यो ।
यो घटनाभन्दा अघि र पछि पनि डा. यादवको थुप्रै विवादित कार्यहरु बीपी प्रतिष्ठानमा रहेको छ । २०५८ असोजमा ड्युउटी पोष्र्टमार्टममा रहेको पुर्वजानकारी हुदा पनि पोष्टर्माटमका लागि नआउको र बिडिएस तेस्रो बर्षको कक्षा लिन तोकिएकोमा पुर्वसुचना नगरी उपस्थित नभएपछि त्यस्तो घटना नदोहोर्याउन प्रतिष्ठानले सचेत गराएको थियो । यस्तै, २०७० सालमा विना स्वीकृति र जानकारी अनुपस्थित भएको भन्दै प्रतिष्ठानले उनलाई स्पष्टीकरण लिएपछि सचेत गराएको थियो । उनी बीपीमा पनि दुई पटक उपकुलपति बन्ने प्रयास गरेका थिए । तर, सफल भएनन् । आफु असफल भएपछि पदाधिकारीहरुलाई हरेक काममा उनले अवरोध गर्ने गरेका छन् । एक महिनअघि मात्र प्रतिष्ठानको आकस्मिक कक्ष विस्तार शुरु भएकै दिन मन्त्रीलाई फोन गर्न लगाएर काम रोकेका थिए ।
न्याम्समा उपकुलपति बन्न डा.यादवसहित २२ जनाको निवेदन परेको थियो । स्वास्थ्यमन्त्री संयोजक रहेको छनौट तथा सिफारिश समितिले ती मध्ये ६ जनाको सुची तयार पार्दा त्यसमा डा. यादव पनि परेका छन् । अब समितिले ६ जना मध्येबाट ३ जनाको सुची छनौट गरेर प्रधानमन्त्रीलाई सिफारिश गर्नेछ । ती मध्येबाट एक जना उपकुलपति नियुक्ती हुन्छन् । डा. यादवले अख्तियारले निलम्बन गरेको भएपनि पछि फुकुवा भएकोले उपकुलपति बन्न समस्या नहुने बताउछन् । त्यसबेला आफुलाई वदनाम गर्न मात्र अख्तियारमा उजुरी परेको उनको दाबी छ । सिफारिश समितिका सदस्य डा. शुशीलनाथ प्याकुरेल अनुभवी, शैक्षिक योग्यता र विवादित नभएका चिकित्सकलाई सिफारिश गर्ने बताउदै ६ जनाको पनि पृष्ठभुमीहरुबारे थप बुझ्ने बताउँछन् । ‘अझै पनि को को कस्ता डाक्टर हुन् भनेर बुझ्छौं, र मात्र ३ जना सिफारिश हुन्छ । स्वच्छ मान्छे होस् भन्ने हामी चाहन्छौं,’उनले भने ।
तस्बिर क्याप्सन :
बीपीका विवादित चिकित्सक डा.विश्वनाथ यादव ।
र,
डा.विश्वनाथ यादव विवादमा मुछिएका घटनाहरु ।

biswonath yadab IMG_20180907_093621