धरान : गएको शुक्रबार धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकबाट विरोध र विवाद हुंदाहुंदै पनि कर्मचारीहरुको वृत्ति विकास सम्बन्धी कार्यविधि बहुमतले पारित भएको छ । कार्यपालिकामा एमालेको बहुमत भएको र कर्मचारीहरु पनि अधिकांश एमाले निकट भएको कारण कार्यविधि पारित हुनेमा कुनै शंका थिएन । तर, कार्यविधिप्रति भने एमालेकै वडाअध्यक्षहरु पनि सन्तुष्ट थिएनन् ।
आफु आठौं तहमा बढुवा भएर महाशाखा प्रमुख हुने र निजामति कर्मचारीका उपसचिवहरुलाई आउन रोक्ने गरी कर्मचारीहरुले नै कार्यविधि बनाएका थिए । उक्त कार्यविधि शुक्रबारको बैठकमा पेश हुनासाथ एमालेबाट जितेका वडा १० काअध्यक्ष श्रीप्रसाद सुब्बाले विरोध जनाए । उनले क्षमता विकास तथा सुशासन समितिमा व्यापक छलफल गरेर उक्त समितिमार्फत कार्यपालिका बैठकमा कार्यविधि ल्याइनुपर्नेमा थाहै नदिई कर्मचारीहरुले ल्याएको भन्दै तीब्र असन्तुष्टी जनाएका थिए । त्यसपछि, कांग्रेसबाट जितेका वडा १८ र ५ का अध्यक्षहरुले पनि कार्यविधिको विरोध गरेका थिए । विरोध हुंदाहुंदै पनि एमालेको बहुमत भएको कारण कार्यविधि पारित भयो । यद्यपी, वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बु र वडा १८ का अध्यक्ष प्रविण राईले नोट अफ डिसेन्ट लेखेका छन् ।
कार्यविधिप्रति प्रमुख प्रशासकीय अधिकृत सुमन घिमिरेको पनि सहमति थिएन । त्यसैले केही दिनदेखि जनप्रतिनिधि, स्थानीय कर्मचारी र घिमिरेबीच टकराव बढ्दै गएको थियो । शुक्रबारको बैठकमा टकराव छताछुल्ल हुन पुग्यो । बैठकको एजेण्डाहरु घिमिरेले प्रस्तुत गर्नुपर्ने थियो । तर, वरिष्ठ प्रशासकीय अधिकृत खगेन्द्रप्रसाद खतिवडाले एजेण्डाहरु प्रस्तुत गरे । उनी बैठकबाट बाहिरिन खोज्दा अध्यक्षहरुले बस्न आग्रह गरेपछि बैठकमा त बसे तर, कुनै भुमिका खेलेनन् । ‘पेलेर कार्यविधि पास गर्ने कुरा बुझेपछि उनी बाहिरिन खोजेका थिए, तर वडाअध्यक्षले बस्न आग्रह गरेपछि बसे । उनको काम खगेन्द्र खतिवडाले गरिदिए, सबै एजेण्डा उनैले प्रस्तुत गरे,’एमालेकै असन्तुष्ट एक वडाअध्यक्षले भने ।
कार्यविधिप्रति असन्तुष्ट सुशासन तथा क्षमता विकास समितिका सदस्यसमेत रहेका वडा १० का अध्यक्ष श्रीप्रसाद सुब्बाले कर्मचारीको स्वार्थको लागि समितिमा आवश्यक छलफल नगरी कार्यविधि ल्याएकोले आफुले विरोध गरेको बताए । बैठकको निर्णयमा हस्ताक्षर नगरेको र पछि पनि नगर्ने उनको भनाई थियो । ‘कर्मचारीको वृत्ति विकास गर्नुपर्छ, तर कुन बेला कसरी गर्ने भनेर समितिमा छलफल गरेपछि मात्र कार्यपालिकामा पेश गर्नुपर्ने थियो,’उनले भने,‘कर्मचारीले जे भन्यो, त्यही काम मात्र गर्ने हो भने हामी जनप्रतिनिधिको भुमिका के हो ?’
कार्यपालिका बैठकमा निर्णयार्थ ६ वटा कार्यसुचीहरु प्रस्तुत गरिएको थियो । पहिलो बुँदामा स्व.तारा सुब्बा स्मृति प्रतिष्ठान गठन गर्ने, दोस्रो बुँदामा कर्मचारीको वृत्ति विकास सम्बन्धी कार्यविधि, तेस्रोमा मेयरकप स्कुल ओलम्पिक थियो भने चौथोमा भुउपयोग नीति तर्जुमा कार्यदल गठन, पाँचौं नम्बरमा समितिको सदस्यहरु तोक्ने र छैठौं एजेण्डामा आर्थिक सहयोग तथा राहत सम्बन्धमा राखिएको थियो । ‘प्रमुख प्रशासकीय अधिकृतलाई पनि यो कार्यविधि हतारमा ल्याएकोमा मन परेको थिएन । एमालेकै अध्यक्षहरुले पनि विरोध गरिरहेका थिए । हामीले पनि हतारमा नगरौं, अझै छलफल र गृहकार्य गरौं भन्यौं । नमानेपछि हाम्रो सहमति छैन भनेर नोटअफ डिसेन्ट लेख्यौं,’वडा १८ का अध्यक्ष राईले भने ।
नगर कार्यपालिकाका प्रवक्ता एवं वडा २० का अध्यक्ष मणिराम राई लामो समय सेवा गरेका कर्मचारीहरुलाई वृत्तिविकास गर्नुपर्छ भन्नेमा सहमत भएपछि कार्यविधि पारित भएको बताए । बिषयगत समितिमा छलफल नभै कार्यविधि कर्मचारीले सिधै बैठकमा ल्याएको बिषयमा भने उनले सामान्य छलफल भएको बताए । ‘बढुवा प्रक्रिया लोकसेवाको मापदण्ड अनुसार नै गछौं, कार्यविधि समितिले बनाएको त होइन, सामान्य छलफल चै भएको हो,’उनले भने ।

किन ल्याइयो हतारमा कार्यविधि ?
संघीय तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजन गर्नुअघि हरेक स्थानीय तहलाई आफ्नो संगठन संरचना र दरबन्दीको बिषयमा प्रस्ताव पेश गर्न परिपत्र गर्यो । सोही अनुसार धरानले २ जना विज्ञ ल्याएर अध्ययन गरायो । उक्त विज्ञ टोलीले प्रमुख प्रशासकीय अधिकृत मुनि एक जना सहायक प्रशासकीय अधिकृत राख्ने र महाशाखा प्रमुखहरु आठौं तहको कर्मचारी बनाउने रिपोर्ट दिएको थियो । उक्त रिपोर्ट कार्यपालिका बैठकले पास गरेर मन्त्रालयमा पठाइएपछि धरान उपमहानगरका कर्मचारीहरुले चलखेल शुरु गरेका हुन् ।
आफुहरु सातौं तहमा मात्र भएकोले आठौं तहको दरबन्दी सृर्जना हुदा निजामतिका कर्मचारीहरु आउने निश्चित भएकोले उनीहरुको मातहतमा बसेर काम गर्नुपर्ने भयो । त्यसैले गर्दा हतार हतारमा यहाँका कर्मचारीहरुले वृत्तिविकास सम्बन्धी कार्यविधि बनाएर आफुहरु बढुवा भई आठौं तहमा पुग्ने उपाय रचेका थिए । कार्यपालिकामा बहुमत रहेको एमाले पार्टी कर्मचारीहरुको बढुुवा हुनुपर्ने पक्षमा उभिएपछि कार्यविधि पारित भएको हो । धरानका कर्मचारीहरु अधिकांश एमाले निकट छन् भने अधिकृतहरु नै एमालेको कमिटिमा बसेकाहरु पनि छन् ।

तस्बिर क्याप्सन : धरान उपमहानगरपालिकाको कर्मचारीहरुको वृत्तिविकास सम्बन्धी कार्यविधि ।

1 101 2 9 3 4 4 4 5 3