धरान : नौ महिना गर्भमा राखेर जन्मिएको बच्चालाई एउटी आमाले कसरी हत्या गर्न सक्छ ? सम्झदा नि अपत्यारिलो र दुःखद् घटना धरानमा भएको छ ।

धरान १०, नारायण चोकस्थित एक घरमा डेरामा बस्ने २० बर्षीय अस्मिता चौधरीले बच्चा जन्माए लगत्तै आफैले हत्या गरेकी छिन् । आज विश्वकर्मा पुजाको दिन बिहानै उनले घर पछाडिको ट्वाइलेटमा छोरा जन्माइन् । तर,लगत्तै हत्या गरिन् । उनी अविवाहित भएको कारण लोकलाजको डरले हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । बिहानैको घटना दिउँसो सवा ३ बजेतिर मात्र सार्वजनिक भएको थियो । ‘कति राम्रो छोरा रहेछ, स्वास्थ्य पनि थिएछ । नमारेको भए जस्ले पनि लैजान्थ्यो, कति निर्दयी मान्छे,’महिला प्रहरीले भनिन् ।

अन्य महिला ट्वाइलेट जाने क्रममा घोप्टो परेको अवस्थामा शिशु मृत शव देखेपछि घटना आगोसरी फैलियो । लगत्तै प्रहरी आएर मुचुल्का उठाएको छ । अस्मितालाई प्रहरीले अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय लगेको छ । प्रारम्भिक सोधपुछमा अस्मिताले प्रहरीलाई केही पनि बताएको छैन भने उनकी आमा गंगा चौधरीले पनि घटनाबारे थाह नभएको बताएकी छिन् । उनले भनिन्,‘म पनि लेवर काम गर्छु, छोरी पनि लेवर काम नै गर्छिन् । त्यसैले बिहानै हिड्थ्यौं, पेट बोकेको भन्ने पनि थाहै भएन । बच्चा जन्मार मारेको पनि थाह पाइन ।’

इनरुवा घर भएकी गंगाले दोस्रो बिहे गरेर धरान आएकी हुन् । उनको दोस्रो श्रीमान् जस राई सफारी चालक हुन् । अस्मिता पहिलो श्रीमान्तर्फकी छोरी हुन् । जसतर्फबाट पनि एक छोराको जन्म भइसकेको छ । उनीहरु नारायणचोककी लक्ष्मी तामाङको घरमा डेरा गरी बसेको डेढ बर्ष भइसकेको छ । प्रहरी निरीक्षक अशोककमार जवेगुले अस्मितालाई थप अनुसन्धानको लागि लगिने र मृत बच्चाको पोष्टमार्टम गर्न बीपी प्रतिष्ठान लगिएको बताए ।