धरान : धरानका अग्रज साहित्यकार एवं कवि बद्री पलिखेको ६६ बर्षको उमेरमा निधन भएको छ । धरान ९, पुतलीलाइन निवासी पलिखेको मंगलबार निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
पलिखेको जन्म २००९ साल जेठ ११ गते भएको थियो । उनले पब्लिक उच्चमाविमा लामो समय पढाएका थिए । शिक्षण पेशाबाट अवकाश पाएका पलिखेलाई केही समयदेखि विभिन्न रोगले सताइरहेको थियो । तरपनि उनी साहित्यिक गतिविधिहरुमा सकेसम्म सहभागी जनाउथे । धरानको विभिन्न साहित्यिक संघसंस्थाहरुमा पनि उनले नेतृत्व गरिसकेका थिए । मोती सँस्मरण समिति, सुनसरी साहित्य प्रतिष्ठानको अध्यक्ष पनि भएका थिए । उनको दर्जन बढी साहित्यिक कृतिहरु प्रकाशित भइसकेको छ । सबै विधामा कलम चलाएका पलिखेको प्रकाशित पुस्तकहरु मध्ये आधा जसो त कविता र मुक्तकका छन् । उनी कविता र मुक्तक बढी लेख्थे ।
धरानका सशक्त युवा कवि सुदिप पाख्रिनले पलिखेको निधनले धरान र नेपालकै साहित्यमा अपुरणीय क्षति पुगेको बताए । ‘उहाँ हामी युवाहरुको लागि अभिभावक हुनुहुन्थ्यो, सधै नजिक रहेर हामीलाई मार्गदर्शन गरिरहने व्यक्तित्व आज गुमाएका छौं,’कवि पाख्रिनले भने । स्वर्गीय पलिखेका कालचक्र मुक्तक संग्रह, मौन अनुहार कविता संग्रह, सुनसरीका प्रतिभाहरुको खोजलगायत पुस्तक प्रकाशन भएको छ । उनले कथा, कविता, मुक्तक, निबन्ध, समालोचनाहरुमा पनि कलम चलाएका छन् ।