धरान : सरकारले असोज ३ संविधान दिवसलाई राष्ट्रिय दिवस मनाउने घोषणा गरेको थियो । देशभर संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान जारी भएको दिनलाई स्वागत गर्ने कार्यक्रमहरु भइरहेको छ । तर, यही राष्ट्रिय दिवसको दिन भने यातायात बन्द छ ।
धरान लगायत प्रदेश १ का प्रमुख शहरहरुमा बजार भने खुलेको छ । साना र निजी सवारीका साधनहरु पनि चलेका छन् । तर, लामो दुरीका सार्वजनिक यातायातका साधानहरु भने ठप्प छ । देशले संविधान दिवस मनाइरहेको समयमा नागरिकहरुको मौलिक हक भने खोसिएको छ । सार्वजनिक यातायातको साधान बन्द गरेर निर्वाध आवतजावत गर्ने अधिकारबाट कसैलाई पनि बञ्जिन गरिन पाइदैन । यो अधिकार सुरक्षित गरेको संविधान दिवस मनाइरहदा भने बुधबार सार्वजनिक यातायात बन्द छ ।
बन्द कसले आयोजना गर्यो ? अघिल्लो दिन मंगलबारको जस्तै अन्योल छ । न कोही बन्दकर्ता सडकमा आएका छन्, न कसैले माइकिङ नै गरेको छ । सुनसरी जिल्ला ट्राफिक कार्यालय, धरानका प्रमुख तथा प्रहरी निरीक्षक होमराज दाहाल बन्दकर्ताहरु कोही पनि देखिएका छैनन् । तर, यातायातका चालकहरुले निकालेको पर्चा भेटिएको हुनाले चालकहरुले स्वतःस्फुर्त गाडी नलाएको हुनसक्ने उनी अनुमान गर्छन् । ‘सवारी तथा यातायात व्यवस्था ऐनले दुर्घटनामा कुनै व्यक्ति वा यात्रुको ज्यान गएमा अवस्था हेरी जन्मकैद वा ५ देखि १२ बर्षसम्म कैद सजाय हुनेछ भन्ने छ, त्यसैको विरोधमा हिजो चालकहरुले बन्द गरेका थिए । आज पनि त्यही बन्दको निरन्तरता जस्तो छ,’उनले भने ।
यातायात मजदुर संगठनहरुले भने यो बन्दलाई समर्थन गरेका थिएनन् । खासगरी सरकारमा रहेको एमाले र माओवादी केन्द्र(हाल नेकपा)का मजदुर संगठनहरुले बन्द नगर्न अपिल गरेपनि चालकहरुले स्वतःस्फुर्त ऐनको विरुद्धमा बन्द गरेका हुन् । बन्दको बिषयमा मजदुर संगठनका नेताहरु पनि औपचारिकरुपमा बोल्न चाहिरहेका छैनन् । संगठनका नेताहरु गाडी चलाउन चालकहरुलाई खोज्दै हिडेपनि फेला पार्न सकेका छैनन् । यद्यपी, निजी तथा भाडाका साना सावरीहरु काकडभिट्टा, विराटनगरसम्म पनि चलिरहेको छ । टेम्पो, सिटि सफारी, मोटरसाइकलहरु पनि चलिरहेको छ ।