धरान : हरिनगर गाउँपालिका २ भुटाहामा भारतीय हतियारधारी समुहबाट खुर्सिद आलमको हत्या गरिएको घटनाबारे २ वटा उच्चस्तरीय छानबिन तथा अनुसन्धान टोली गठन भएको छ ।
स्थानीयबासीको माग सम्बोधन गर्ने क्रममा गृहमन्त्रालयले शुक्रबार बिहान घटनाबारे अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोली राजधानीबाट घटनास्थलतर्फ प्रस्थान गरिसेको छ भने सोही घटनामा छानबिन गर्न प्रदेश नं १ प्रहरी कार्यलय विराटनगरका वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी)किसोर कुमार दाहालको नेतृत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति पनि गठन भएको छ ।। बिहिबार अबेर रातीसम्म स्थानीय नेतृत्वसँग प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखबीच भएको छलफलमा स्थानीयले ५ वटा माग राखेका थिए । त्यसमध्ये गृहमन्त्रालयले आफुले पुरा गर्नसक्ने माग शुक्रबार बिहानसम्म सम्बोधन गरेको प्रजिअ प्रेमप्रसाद उप्रेतीले जानकारी गराए । ‘स्थानीयबासीको अधिकांश माग गृहमन्त्रालयले पुरा गरिसकेको छ, सिआइबीको टोली घटनास्थलतर्फ आउदैछ भने एसएसपीको कमाण्डमा ५ सदस्यीय छानबिन टोली पनि गठन भइसकेको छ,’प्रजिअ उप्रेतीले भने ।
स्थानीयको माग वमोजिम मृतकलाई शहीद घोषणा र क्षतिपुर्ति दिनुपर्ने माग मन्त्रीपरिषदबाट निर्णय हुनुपर्ने भएकोले दिउँसो बस्ने मन्त्रीपरिषद बैठकमा पेश भएर सम्बोधन हुने पनि प्रजिअ उप्रेतीले जानकारी दिए । उनका अनुसार स्थानीयबासीले गृहमन्त्रीसँग वार्ता गर्ने वातावरण बनाउन माग गरेका थिए । सोही वमोजिम स्थानीयबासीको ५ जनाको टोलीसँग गृहमन्त्री कुरा गर्न सहमत भइसकेको मन्त्रालयबाट जानकारी आएको पनि उनले बताए । ‘हिजै पनि मुस्लिम नेताहरुसँग गृहमन्त्री ज्युले भेट गरिसक्नु भएको छ, स्थानीयको माग वमोजिम ५ जनाको टोलीसँग उहाँ कुरा गर्न पनि तयार हुनुभएको खबर आयो, मैले त्यही कुरा स्थानीय नेतृत्वसँग गरिसकेको छुँ,’उनले भने ।
बिहिबार बिहान करिब ११ बजे भुटाहा चोकमा स्कुलबाट घर फर्कने क्रममा मोटरसाइकलमा सवार आलमलाई गोली प्रहार भएको थियो । उनको घटनास्थलमा नै मृत्यु भएको थियो । दुई वटा मोटरसाइलमा आएका भारतीय हतियारधारीले उनको कञ्चट र पेटमा गोली प्रहार गरेका थिए । गोली प्रहारपछि दक्षिणतर्फ भाग्दै गरेका हतियारधारी समुहसँग आमने सामने हुदा घुस्की प्रहरी चौकीका जवान शिवलाल पौडेल पनि घाइते भएका थिए । उनलाई तीघ्रा र कम्मरमा गोली लागेको थियो । उनी खतरामुक्त छन् ।
भारतीय सिमाभन्दा करिब १४ किलोमिटर उत्तरमा भएको गोलीकाण्डपछि पनि अपराधीहरु बोर्डर पार गर्न सफल भएपछि नेपालका सुरक्षा संयन्त्रको चर्को आलोचना भइरहेको छ । भुटाहा, घुस्की र बोर्डरमा रहेको सशस्त्र प्रहरीले पनि हतियारधारी समुहलाई रोक्न नसकेको भन्दै तीब्र आलोचना भइरहेको छ । आक्रोशित स्थानीयासीहरुले शव अझै पनि उठ्न दिएको छैन । सयौंको संख्यामा घटनास्थल भुटाहा चोकमा नाराबाजी गरिरहेका छन् । भुटाहा, घुस्की क्षेत्रको बजार, यातायात ठप्प भएको स्थानीयबासी एवं पत्रकार नसिम अन्सारीले जानकारी दिए । भुटाहास्थित प्रहरी चौकीमा आक्रमणको प्रयास भएपनि अप्रिय घटना भने भएको छैन ।