इनरुवा  : स्थानीय राजनीतिकर्मी तथा शिक्षासेवी खर्सिद आलमको बिहिबार गोली हानी हत्या गरिएपछि आन्दोलनरत हरिनगर २, भुटाहाका स्थानीय र प्रशासनबीच सहमति जुटेको छ ।
स्थानीय अगुवा तथा दलका नेताहरु र प्रहरी, प्रशासनबीच बिहिबार राती भएको समझदारीलाई गृहमन्त्रालयले स्वीकार गरेको र सरकारबाट पनि माग सम्बोधन हुने आश्वासन पाएपछि स्थिति सामान्य हुदै गएको थियो । रातीको सहमति अनुसार शुक्रबार बिहानै गृह मन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोली पनि अनुसन्धानको लागि पठाएको थियो । साथै, शहीद घोषणा र क्षतिपुर्तिको माग क्याबिनेटबाट पुरा हुने विश्वास प्रशासन, गृहमन्त्रालयले दिलाएपछि स्थानीयको आन्दोलन रोकिएको हो ।

dead body copy 1


दिउँसो नेताहरुले बिहिबार रातीको सहमतिलाई सरकारले सम्बोधन गरेको बिषयमा आन्दोलनमा उत्रिएका स्थानीयबासीहरु समक्ष सुनाएका थिए । स्थानीयासीले उक्त सहमति कार्यान्वयन भएकोप्रति सकरात्मक बनेपछि बिहिबार हत्या गरिएका आलमको शव उठाउन दिन पनि स्थानीयहरु सहमत भए । हत्या गरिएका आलमको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीय नेता लस्करी अन्सारीले बताए । उनले भने,‘शहीद घोषणा र क्षतिपुर्तिको माग क्याबिनेट बैठकबाट पुरा हुन्छ, उच्चस्तरीय समिति गठन र सिआइबीको माग पुरा भइसकेको छ । अहिले स्थिति सामान्य छ । शव धरान घोपा लगिसक्यो ।’ बिहिबार बिहान करिब ११ बजे २ वटा मोटरसाइकलमा आएका हतियारधारी समुहले भुटाहा चोकमा गोली हानेर आलमको हत्या गरेको थियो । हत्याराहरु मोटरसाइकलमा १४ किलोमिटर दक्षिण सिमा पुग्दासम्म पनि रोक्न नसकेको भन्दै स्थानीयहरु आक्रोशित हुदै आन्दोलनमा उत्रिएका थिए । उनीहरुले स्वतःस्फुर्त बजार बन्द गरेर सडकमा आलमको शव राखी आन्दोलन गरेका थिए ।