धरान :  भारतीय हतियारधारीहरुको गोली प्रहारबाट हत्या गरिएको सुनसरीको हरिनगरा २, भुटाहाका राजनीतिकर्मी तथा शिक्षासेवी खुर्सिद आलमको शवलाई पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । बिहिबार हत्या गरिएका आलमको शव आन्दोलनरत स्थानीयबासी र प्रशासनबीच सहमति भएपछि शुक्रबार राती मात्र पोष्टमार्टमको लागि प्रतिष्ठान ल्याइएको हो । राती करिब ८ बजेतिर आलमको शव प्रतिष्ठानको आकस्मिक कक्षमा ल्याइएको थियो । शुरुमा एक्स रे गरेपछि शवलाई मर्चरी लगिएको थियो । शुक्रबार राती नै पहिलो चरणको पोष्टमार्टम गरिएको थियो भने आज शनिबार बिहान पनि पुनः पोष्टमार्टम गरिने फोरेन्सिक विभागका डा.विकास साहले जानकारी दिए । उनका अनुसार शुक्रबार राती आलमको शरीरबाट एउटा गोली पनि भेटिएको छ । ‘एउटा बुलेट शरीरमा भेटियो, टाउकोमा हेर्न बाँकी छ । शनिबार बिहानै हेर्छौ ,’शुक्रबार राती पहिलो चरणको पोष्टमार्टम पनि डा. साहले भने । बिहिबार बिहान करिब ११ बजेरित २ वटा मोटरसाइकलमा आएका हतियारधारी समुहले भुटाहा चोकमा गोली हानेर आलमको हत्या गरेको थियो । हत्याराहरु मोटरसाइकलमा दक्षिण सिमा पार हुदासम्म पनि प्रहरीले रोक्न नसकेको भन्दै स्थानीयहरु आन्दोलनमा उत्रिएका थिए । उनीहरुले बजार बन्द गरेर आलमको शव सडकमा राखी आन्दोलन गरेका थिए । स्थानीय अगुवा तथा दलका नेताहरु र प्रहरी, प्रशासनबीच बिहिबार राती नै वार्ता भई समझदारी बनेको थियो । उक्त समझादरीलाई गृहमन्त्रालयले सम्बोधन गरेपछि स्थिति भड्किन पाएन । रातीको सहमतिअनुसार शुक्रबार बिहानै गृहमन्त्रालयले उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को टोली पनि अनुसन्धानको लागि पठाएको थियो । साथै, शहीद घोषणा र क्षतिपुर्तिको माग क्याबिनेटबाट पुरा हुने विश्वास प्रशासन, गृहमन्त्रालयले दिलाएपछि स्थानीयको आन्दोलन रोकिएको हो ।

 

kapuri News- Alal Bady2

 

तस्बिर: पोष्टमार्टमको लागि धरानको बीपी प्रतिष्ठानमा ल्याइएको खुर्सिदको शव शववाहनबाट झारिदै ।