धरान, : महिलाहरुको क्षमता विकास गर्ने उद्देश्यले आयोजित वक्तृत्वकला प्रतियोगितामा यशोदा कायस्थ प्रथम भएकी छिन् । महिला सञ्जाल धरानले सुनसरी उद्योग वाणिज्य संघको हलमा आयोजना गरेको संविधानमा महिला अधिकार बिषयक वक्तृत्वकलामा कायस्थ प्रथम भएकी हुन् । यस्तै,देविका विमली द्धितिय भइन् भने कल्पना शेर्पा तृतीय भइन् । सान्त्वना पुरस्कार सावित्रि इवारम र सकुन्तला भुषालले जितिन् । विजेता तथा सहभागी महिलाहरुलाई सञ्जालकी अध्यक्ष सविता राई, प्रमुख अतिथि एवं प्रदेश सभा सदस्य सावित्री जोशी श्रेष्ठ, पुर्वअध्यक्ष मिना पुलामी मगरले प्रमाणपत्र तथा पुस्कार वितरण गरेकी थिइन् । विजेताहरुलाई संविधान, कानुनबारे थप ज्ञान हासिल होस् भन्ने उद्देश्यले नेपालको संविधान २०७२, नयाँ मुलुकी ऐन पुस्तक पुरस्कार स्वरुप दिइएको आयोजकले जनाएको छ । प्रतियोगितामा सञ्जालमा आवद्ध संस्थामध्ये १३ वटा संस्थाबाट एक एक जना प्रतिनिधिहरु सहभागी भएका थिए । प्रतियोगितामा कानुन व्यवसायी मानबहादुर रुम्दाली, सञ्जालकी पुर्वअध्यक्ष गंगा वराल र पत्रकार देवेन्द्र कार्की निर्णायक थिए । प्रमुख अतिथि सांसद जोशीले कार्यक्रममा सम्बोधन गर्दै पित्तृसत्तात्मक सोच रहेसम्म महिलाहरुले व्यावहारमा समानता पाउन नसक्ने भएकोले सोचाईमा परिवर्तन आउन जुरुरी भएको बताइन् । संविधान कार्यान्वयन गर्न एकजुट हुनुपर्ने धारणा राख्दै उनले परिवारमा पनि हरेक निर्णय गर्दा महिलाको पक्षमा सोचेर गर्नुपर्ने पनि उनले बताइन् । सञ्जालकी अध्यक्ष राईले संस्थागत क्षमता र महिला नेतृत्व विकास गर्ने उद्देश्यले सञ्जाल गठन भएकोले सोही अनुसार क्षमता तथा नेतृत्व विकासको कार्यक्रमहरु भविष्यमा पनि आयोजना गरिने बताइन् । कार्यक्रम धरान उपमहानगरपालिकाको सहयोगमा आयोजना भएको पनि उनको भनाई थियो  

 

1 103