धरान : देशभर बलात्कारको घटनाविरुद्ध आन्दोलन चर्किरहदा शनिबार साँझ धरानमा एक १२ बर्षीय नाबालिका बलात्कृत भएकी छिन् । घटनाबारे जानकारी पाएलगत्तै प्रहरीले धरान ११ का ३० बर्षीय दुर्गाबहादुर बिकलाई पक्राउ गरेका छ । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाका अनुसार पीडित नाबालिका र पीडक बिक छिमेकी हुन् । साँझ अबेरसम्म पनि छोरी घर नआएपछि खोजी गर्दै जादा पीडितकी आमाले बिक र छोरी घर आउदै गरेको भेटेका थिए । सोधी खोजी गर्दा बिकले शेर्पा समुदायले संरक्षण गरेको पार्कको कम्पाउण्डमा साँझ साढे ६ बजेतिर बलात्कार गरेको खुलेको थियो । बिकले ललाईफकाई लगेर नाबालिकालाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी तिम्सिनाले बताए । प्रहरीले राती नै पीडित बालिका र पीडक बिकको स्वास्थ्य परीक्षण गरिसकेको छ । बालिका बलात्कृत भएको देखिएको डिएसपी तिम्सिनाले बताए । पीडितकी आमाले शनिबारै जाहेरी दिएकी थिइन् । पीडक बिकलाई आइतबार जिल्ला अदालत सुनसरीबाट अनुसन्धानको लागि ७ दिनको म्याद थप भइसकेको छ ।