इटहरी : स्थानीय निर्वाचन सम्पन्न भएलगत्तै चर्चा र सुरू भएको प्रदेश नं १ को स्थायी राजधानी तोक्ने बिषयले फेरी चर्चा पाउन थालेको छ । प्रदेशस्तरीय निर्वाचन सकिए लगत्तै अस्थायी राजधानी बिराटनगरलाई तोकिएपनि स्थायी राजधानी सुनसरीको इटहरीमा सार्ने हल्लाले चर्चा पाएको थियो । प्रदेशमा मन्त्री मण्डल गठन संगै राजधानी कहाँ राख्ने भन्ने बिषयले खुब चर्चा र बिवाद चलेको थियो । प्रदेशको राजधानी कहाँ राखिने भन्ने बिषयमा सुनसरीको इटहरी , मोरङको बिराटनगर झापाको बिर्तामोड र धनकुटा बिशेष चर्चामा आएको थियो । सरकारले मोरङको बिराटनगरलाई अस्थायि राजधानी तोकेपछि धनकुटामा आन्दोलननै चर्किएको थियो । तोकिएको राजधानी अस्थायि रहेको र प्रदेश सरकारले नै स्थायी राजधानी तोक्ने सरकारले अभिब्याक्ति दिएपछि धनकुटामा आन्दोलन साम्य बनेको थियो । अस्थायी राजधानी बिराटनगर रहेपनि स्थायि राजधानी सुनसरीको इटहरी सार्ने हल्ला चलेसंगै यो बिषयले थप चर्चा पाएको थियो ।  प्रदेश १ का मुख्य मन्त्री लगायत अन्य मन्त्रिहरूले इटहरीलार्इ स्थायी राजधानी बनाउन उपयुक्त बताउदै आएका थिए । तर पछिल्लो समय प्रदेशकै मन्त्रीहरू स्थायी राजधानी बिराटनगरनै उपयुक्त हुने भन्दै निर्णय गर्न थालेपछि यो बिषयले थप चर्चा पाएको हो । यो चर्चा संगै मुख्य मन्त्रीको सचिवालयले सुनसरीको इटहरीमा प्रदेशसभा भवन सार्ने तयारी थालिरहदा एकाएक पुन: बिराटनगरकै चर्चा बढन थालेपछि स्थायी राजधानी तोक्ने बिषय अहिले बिवादमा आएको छ ।

प्रदेश एकका मुख्य मन्त्री शेरधन राईले प्रदेशको स्थायी राजधानी र नामाङकरण भदौ महिना भित्र टुंगो लगाइसक्ने अभिब्याक्ति दिएपनि आफ्नै मातहतका मन्त्रीहरूको लबिङ पछि स्थायी राजधानी मोरङको बिराटनगरलाई तोक्ने भित्री कसरत सुरू भएको पाइएको छ । प्रदेश न. १ का आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबो लगायत अन्य एमालेका मन्त्रीहरूले समेत सार्वजनिक कार्यक्रममा नै विराटनगरलाई प्रदेशको राजधानी हुनबाट कसैले रोक्न नसक्ने बताउन थालिसकेका छन । उनी मात्र होइन प्रदेशका अधिकांस मन्त्रीहरू अहिले सार्वजनिक कार्यक्रमहरूमा मोरङको बिराटनगर नै स्थायी राजधानी हुने निश्चित भएको बताउदै आएका छन । प्रदेशमा रहेका अधिकांस मन्त्रीहरूले धरान, इटहरी र धनकुटामा मुख्यमन्त्री तथा मन्त्रीहरुको सम्पर्क कार्यालय राखिने र त्यहाबाट जनताको गुनासो सम्बोधन गरीने तर स्थायी राजधानी बिराटनगर नै उपयुक्त हुने बताउदै आएका छन । प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले पनि विराटनगर नै प्रदेशको राजधानी हुनुपर्ने विचार व्यक्त गरेका छन । हालै बिराटनगरमा आयोजित एक साक्षतकार कार्यक्रममा पनि उनले खुलेरै यस्तो बताएका हुन । यस अघि उनले नै प्रदेश एकको राजधानी इटहरी उपयुक्त भनेका थिए । यता बाहिर चै सुनसरीको इटहरी स्थायी राजधानी भनेर भित्र भित्रै बिराटनगरलाई तोक्ने चाल प्रति प्रदेशकै सभाषदहरू रूस्ट बनेका छन । प्रदेश १ का सुनसरीबाट बिजयी भएका सभाषद लिलम बस्नेत , सर्वध्वोज साँवा लगायतले प्रदेशको स्थायी राजधानी इटहरी नै हुनुपर्ने अडान कायम राख्दै आएका छन । यद्यपी यो बिषयमा मुख्य मन्त्री शेरधन राईले भने खुलेर बताउन चाहेका छैनन ।