इटहरी : प्रदेश नं.१ को नामकरणको विषयमा चौतर्फी चर्चा भई रहेको समयमा नागरिक समाज इटहरीले बृहत कार्यक्रम गर्ने भएको छ । प्रदेश १ को नामका विषयमा विभिन्न नामहरु चर्चामा रहि रहेको समयमा सबैको प्रतिनिधित्व गर्न सक्ने गरी नामकरण गर्न सकियोस भनेर कार्यक्रम आयोजना गर्न लागिएको हो । नामकरणका विषयमा विभिन्न व्यक्तित्वहरुको अवधारणापत्र प्रस्तुत गर्ने कार्यक्रम राखिएको पत्रकार सम्मेलन गरी नागरिक समाजले जानकारी दिएको छ । साझा नामको अवधारण तयार गर्ने मुल उद्देश्य राखेर आयोजना गरिने कार्यक्रममा भूगोलका ज्ञाता उमानाथ रिजालको कोशी प्रदेश, सञ्चारकर्मी तथा पहिचानवादी अभियन्ता जनकऋषि राईको किराँत प्रदेश, बिष्लेषक मोहन तिम्सिनाको चोमोलुगंमा, सप्तनारायण राजधामीको सगरमाथा र अन्य अवधारणा पत्रहरु प्रस्तुत गरिने नागरिक समाजले जनाएको छ । आगामी शनिवार इटहरीमा आयोजना हुने वृहत कार्यक्रममा प्रस्तुत भएका अवधारण पत्र, सहभागीहरुबाट संकलित सुझाव प्रदेश नं.१ सरकारलाई बुझाई नामकरणमा सहज वनाउन सहयोग गर्न लागिएको समाजका अध्यक्ष दिनेश रसाईलीले जानकारी दिए ।