धरान : अवैधरुपमा धरानको वडा नं ५ स्थित अधेरी खोलाबाट ढुंगा निकासी गरिरहेको २ वटा ट्रयाक्टरलाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहानै पक्राउ गरेर लैजादै गरेको दुवै ट्याक्टरलाई वन कार्यालयमा राखिएको छ ।
दुई ट्याक्टरमध्ये एउटा वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बुको दाईको हो भने अर्को ट्याक्टर अध्यक्ष लिम्बुकै संरक्षणमा रहेको नविन भन्ने व्यक्तिको हो । विगत लामो समयदेखि अध्यक्ष लिम्बुकै नेतृत्वमा अधेरी खोलाबाट निरन्तर अवैधरुपमा नदीजन्य पदार्थ निकासी हुदै आएको आरोप लाग्दै आएको छ । तीनकुनेस्थित सेक्टर वनका अनुसार को २ त ४४५८ र को २ त ७६७७ नम्बरको ट्रयाक्टर पक्राउ परेको हो । ट्याक्टरसँगै पक्राउ परेका २ जना चालकलाई अध्यक्षको दाई जीवन लिम्बुको जिम्मा लगाएको सहायक वन अधिकृत ज्ञानकुमार लामाले जानकारी दिए ।

1 5


इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले अवैध ट्याक्टर पक्राउ गरेर प्रहरीले ल्याउदै गर्दा वन कर्मचारीले बीच बाटोबाट लगेको बताए । आफु कार्यक्रममा ब्यस्त रहदा वडा अध्यक्षले फोन गरेपनि आफुसँग कुरा हुन नपाएको उनले बताए । डिएसपी तिम्सिनाले भने,‘म कार्यक्रममा भएको हुनाले फोन बोकेको थिइन, अध्यक्षले फोन गरेर गाडी त्यता नलानु भनेको गइहालेछ, भन्यो रे । तर, मसँग कुरा हुन पाएन ।’ अधेरी खोलाको माथिल्लो क्षेत्र चुरेमा पनि पर्ने भएकोले प्रतिबन्धित हो । यद्यपी, यो खोलाबाट धेरै समयअघिदेखि नै निरन्तर ढुंगा, सिक्टगिटी तस्करी हुदै आएको छ ।
अधेरी खोलाबाट हुने तस्करीमा प्रहरी र वन कार्यालयका कर्मचारीहरुबीचमा सेटिङ हुने गरेको स्थानीय बताउँछन् । प्रहरी र वन कर्मचारीले कहिल्यै पक्राउ नगर्ने, पक्राउ गर्न जादा पनि सुचना दिएर मात्र जाने गरेका छन् । पक्राउ परि हाले पनि मिलेमतोमा छोडिदिने स्थानीयको भनाई छ । वडाअध्यक्षकै ट्याक्टर, जेसिबि र ट्रिपरले अवैध उत्खनन गरेर तस्करी गर्ने गरेको स्थानीय बताउँछन् । अध्यक्ष लिम्बु भने पक्राउ परेको ट्रयाक्टर आफ्नो नभै एउटा दाजुको र अर्को नविन भाईको भएको बताए । ‘बाटोमा जताततै खाल्डो छ, त्यहाँ मिक्सगिटी हाल्नको लागि निकाल्ने हो । विकास निर्माण नै नगर्नुपर्ने हो त ?,’उनले भने ।

2 6