धरानः  एक साताभित्र दोस्रो पटक मासु पसलहरुको अनुगमनलाई निरन्तरता दिएको धरान उपमहानगरपालिका अन्र्तगतको अनुगमन समितिले पुनः अर्को पटक अनुगमनमा आउदा मापदण्ड अनुसार सुझावहरुको पालना नगरेको नपाए कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ । उपमहानगरपालिकाको अनुगमन अधिकृत रहेको भेषराज घिमिरेले पहिलो चरणमा मासु पसलहरुमा मापदण्डअनुसार सुधार हुनुपर्ने बिषय लिखितरुपमा सुझाव दिइएको र अर्को पटक पुनः अनुगमनमा आउदा अटेर गरेको पाइए कडा कानुनी कारबाहीको कदम अघि बढाउने बताए । उनका अनुसार सुधार गरे नगरेको अवस्था हेरेर अटेर गरेको भए पसल बन्दसम्म हुनसक्छ । ‘अहिले प्रारम्भिक चरणको अनुगमन हो, हामीले मापदण्डअनुसार मासु पसलमा के के सुधार गर्नुपर्ने हो भनेर लिखितरुपमा नै प्रत्येक पसललाई सुझाव दिएका छौं,’अनुगमन अधिकृत घिमिरेले भने,‘सञ्चालकले पनि कागजमा सहि गरेको छ, अर्को पटक अनुगमनमा आउदा कुनै सुधार भएको छैन भने कानुनी कारबाही हुन्छ, अटेर गरेको हो भने पसल बन्द पनि हुनसक्छ ।’
चाडपर्व अघि मात्र बजार तथा मासु पसलहरुको अनुगमन गरेको आलोचनाको बीचमा यसपटक भने अनुगमन समितिले एक साताभित्र दोस्रो पटक मासु पसलहरुको अनुगमन गरेको हो । एक बर्ष पछि गएको बिहिबार धरान ३, सदन रोड र धरान ७, बुद्ध मार्गस्थित मासु पसलहरुको अनुगमन गरेको समितिले सोमबार धरान ९, गौतम पथस्थित सब्जीमण्डी लाइनमा र पुतलीलाइन, राँगाचोकका मासु पसलहरुको अनुगमन गरेको थियो । गएको बिहिबार एक दर्जन पसलहरुको अनुगमन गरेको समितिले सोमबार ११ वटा मासु पसलहरुको अनुगमन गरेको जनाएको छ । अब पुनः बिहिबार अन्य ठाउँको मासु पसलहरुको पनि अनुगमन गर्ने समितिले जनाएको छ ।

3 7

यस्तो छ, धरानको मासु पसलहरुको अवस्था
सोमबार अनुगमनमा निस्किएको टोलीले गएको बिहिबार अनुगमन गरिएको मासु पसलजस्तो दुर्गन्धित, लथालिङ्ग र मानव स्वास्थ्यसँग खेलवाड गरिएको अवस्थाको पसलहरु त भेटेन, तर चित्त बुझाउने ठाउँ पनि कतै थिएन । अनुगमन गरिएका पसलहरुमा कानुनी प्रावधान अुनसार कसैले पनि मुल्यसुची राखेको थिएन भने मासुलाई सिसाले कभर गरेको पनि भेटिएन । जसले गर्दा सडकबाट उडेको हानिकारक धुँवा, धुलो सिधै मासुलाई संक्रमण गर्ने गरेको देखिएको थियो । पसल सञ्चालकहरु हातले झिंगा धपाइरहेको देखिन्थे । केही कुखुराको मासु पसलमा त पसल भित्रै अव्यवस्थितरुप्मा वधस्थल पनि थियो । यो मापदण्ड विपरीत हो । यसले मानव स्वास्थ्यलाई प्रत्यक्ष असर पुग्छ ।

4 1


गौतम पथको केही मासु पसलहरु दुई वटा घरको बीचमा रहेको साधुरो गल्लीमा पनि टिनले छाएर सञ्चालन गरेको भेटिएको थियो । मासु पसलमा अनिवार्य डिप फ्रिज राख्नुपर्छ, र डिप फ्रिजिङ गरेको मासु मात्र उपभोक्तालाई बेच्नु पर्छ । ती पसलहरुमा डिप फ्रिज पनि थिएन । ‘मानव स्वास्थ्यको हिसाबले चित्त बुझाउने ठाउँ कही पनि छैन, धेरै सुधार गर्नुपर्ने देखिन्छ,’उपभोक्ता हित संरक्षण मञ्चका क्षेत्रीय उपाध्यक्ष विष्णु ताम्राकारले भने,‘बर्षमा एक दुई पटक अनुगमन गर्दैमा केही हुदैन, नियमित अनुगमन गर्ने र मापदण्ड पालना गर्न अटेर गरे कडा कारबाही गरेमात्र सुधार हुन्छ ।’

kapuri1