धरान : धरानमा मेला लगाउन स्वीकृति दिने धरान उपमहानगर कार्यपालिका बैठकको निर्णयलाई नेपाली कांग्रेसले नीतिगत भ्रष्टाचारको संज्ञा दिएको छ । उसले युवाहरुलाई विचलन गर्ने, द्वन्द निम्त्याउने र विकृति, जुवाजन्य खेलतमासा हुने मेला स्वीकृत गर्ने निर्णय फिर्ता लिन पनि नगर कार्यपालिकालाई आग्रह गरेको छ ।

नेपाली कांग्रेस धरान उपमहानगर कार्यसमितिले शुक्रबार पत्रकार सम्मेलन गर्दै ३ दिनअघि नै वडाअध्यक्षहरुलाई कार्यपालिका बैठकको एजेण्डाहरु उपलब्ध गराउनुपर्नेमा अघिल्लो दिन मात्र जानकारी दिएको र भोलीपल्टै बैठकमा निर्णय भएकोले आर्थिक चलखेल, मिलेमतो र डिजाइन अनुसार एजेण्डा तय भएर निर्णय भएको आरोप लगाएको छ । ‘नत्र बैठकको एजेण्डा ३ दिन अघि नै सबै वडाअध्यक्षहरुलाई किन दिइएन ? बुधबार साँझ एजेण्डा तय गर्ने र बिहानै निर्णय गर्ने डिजाइन र मिलेमतोमा बैठक राखिएको हो, यो नीतिगत भ्रष्टचार हो, निर्णय फिर्ता हुनुपर्छ,’कांग्रेस नगर सभापति तिलक राईले भने,‘यो निर्णय ज्यादै दुर्भाग्यपुर्ण छ । जुन बिषयले धरान वद्नाम बनेको थियो, यहाँका युवाहरुबीच फाटो बनेको थियो, त्यसैलाई कार्यपालिकामा बैठक एजेण्डा बनाउने र निर्णय गर्ने गलत काम भएको छ ।’

कांग्रेसले एमालेको नेतृत्वमा धरानमा दुई तिहाई बहुमतको स्थानीय सरकार बनेपछि एकपछि अर्को जनघाती निर्णयहरु गर्दै आएको दाबी गरेको छ । नगरमा नेतृत्व सम्हालेलगत्तै विलासी गाडी किनेको, कार्यकर्ता भतीकेन्द्र बनाएको, मनोमानी समितिहरु गठन गरेको, आफु खुशी र आफ्ना कार्यकर्ताहरुलाई मात्र फाइदा पुग्ने गरी वडामा बजेट विनियोजन गरेको, सुकुम्बासी समस्याहरुतर्पm चासो नदिएको, कर अत्यधिक बढाएको र आफ्नो कोषमा करोडौं बजेट राखेर अपचलन गरेको पनि आरोप लगाएको छ । ‘धरानमा कर वृद्धिको एजेण्डामा छलफल र निर्णय हुदैन, सर्दु जलाधारबारे बनेको समितिको रिपोर्ट के आयो, त्यसमा छलफल हुदैन, खानेपानी आयोजनाको म्याद नथप्ने भनेर एडिबिले भनिसक्यो, अब के हुन्छ भनेर छलफल हुदैन तर एकाएक कार्यपालिका बैठकमा मेलाको एजेण्डा आउछ, र पारित हुन्छ । यो मिलोमतो र आर्थिक चलखेल नभई के हो ?’सभापति राईले भने,‘यो भन्दा दुःखद, दुर्भाग्यपुर्ण कुरा हाम्रो लागि के हुन्छ ?’

melaaaa

चाडपर्वमा महंगीको बेला जनतालाई राहत मिल्ने गरी सस्तो बजार लगाउने पक्षमा नेपाली कांग्रेस भएको भन्दै सभापति राईले मदिराजन्य, जुवाजन्य र महंगो खेलतमासा हुने मेलाको पक्षमा भने नभएको प्रष्ट पारेका छन् । मेला लगाउनु अघि नै लाखौंको चलखेल हुने, राजनीतिक नेता र युवाहरुलाई पैसा बाड्नुपर्ने विगतको विकृतिपुर्ण मेला देखेर नै कांग्रेसले २०७३ सालमा मेला लगाउनै नहुने निर्णय गरेको पनि राईले बताए । ‘धरानमा लाग्ने मेला कुनै पनि पक्षले उचित छैन । यहाँ राती ११, १२ बजेसम्म खुलेआम मदिरा बेचिन्छ, जुवाजन्य खेल तमासाहरु हुन्छ । जसले गर्दा कुण्डले, मुण्डले युवाहरुको अखडा बन्छ, र यसले हाम्रो युवाहरुलाई गलत मनोविज्ञान बसाउछ । गलत काम गरेरै पैसा कमाउनुपर्छ भन्ने पर्छ,’राईले भने,‘धरानको वडा नं ४ पत्रांगबारीमा प्रहरी विटको माग हुदा प्रहरी संख्या पुग्दैन भन्ने अनि मेलामा चै सुरक्षा दिन प्रहरी संख्या कसरी पुग्छ ?’

नगर सचिव श्याम पोख्रेलले पनि दशैं तिहारको वहानामा लगाइने उच्छृंखल मेलाले वितगमा धरानलाई प्रत्युपादक भएको, शान्ति सुरक्षामाथि चुनौती थपिएको र युवाहरुमा फाटो, वैमनस्यता बढाएकोले पुनः त्यही श्रृंखला दोहोरिने भएकोले नगर कार्यपालिकाको निर्णय उचित नभएको बताए । विगतमा मेला आयोजनाको स्वीकृति पाउने संस्थाले विभिन्न दलआवद्ध युवा संगठन, समुह र संस्थाहरुलाई लाखौं रुपैया बाड्नुपथ्यो । मेला स्वीकृति दिने दलीय संयन्त्रका नेतालाई, पार्टीलाई र नगरपालिकाका कर्मचारीलाई पनि पैसा बुझाएपछि मात्र मेला अनुमति मिल्थ्यो ।