धरान: साविक पाँचकन्या गाविस एवं हाल धरान उपमहानगरपालिका वडा नं ४ पत्राङ्बारीमा प्रहरी बिट स्थापना भएको छ ।

स्थानीयबासीको माग अनुसार इलाका प्रहरी कार्यालयको पहलमा जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्राङ्बारीमा बिट स्थापना गरेको हो । वडा दशैंको सप्तमी(फुलपाती)को दिन पारेर मंगलबार बिटको उद्घाटन गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन अधिकारीले एक कार्यक्रमबीच रिबन काटेर बिटको उद्घाटन गरेका थिए । कार्यक्रममा इलाका प्रहरी कार्यालयका डिएसपी सुमन तिम्सिना, सशस्त्र प्रहरीको डिएसपी देवराज विष्टको पनि उपस्थिति रहेको थियो । चौकीमा असईको नेतृत्वमा संघीय प्रहरी इकाई धरानबाट ७ जना प्रहरी खटाइएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

patrangbaripy

प्रहरी बिटको लागि स्थानीय सम्राट क्षेत्रीले आफ्नो पुख्यौली घर उपलब्ध गराएपछि चौकी स्थापना गर्न सहज भएको थियो । स्थानीयबासीले धेरै अगाडिदेखि प्रहरी चौकी स्थापनाको माग र पहल गरिरहेका थिए । धरानको दुर्गम वडामा पर्ने पत्राङ्बारीमा प्रहरी गस्ती हतपत पुग्दैन । जसले गर्दा अपराधिक घटनाहरु बढी नै हुन्थ्यो । जंगलको बीचमा गाउँ भएकोले लुटपाट, लागुऔषध सेवन, मादकपदार्थ खाएर झगडा, महिलाहरुमाथि दुव्र्यवहारका घटनाहरु निक्कै बढेको थियो । अब भने प्रहरी चौकी स्थापना भएपछि शान्ति सुरक्षामा सुधार हुने स्थानीयको अपेक्षा छ । ‘धेरै प्रयासपछि प्रहरी बिट आउन सक्यो, खुशी छौं । प्रहरीको लागि स्थायी भवनको लागि ५ कट्ठा जग्गा चाहिनेछ, त्यसकोलागि पनि पहल गछौं,’क्षेत्रीले भने ।

patrangbari polic

बिट उद्घाटन समारोहमा बोल्दै एसपी अधिकारीले समाजमा शान्ति सुरक्षा कायम राख्ने जिम्मा प्रहरीको भएपनि जनताबाट पनि सकरात्मक सहयोग र समन्वय आवश्यक हुने बताए । प्रहरीलाई घटनाहरु मिलाउन दबाब नदिन आग्रह गर्दै एसपी अधिकारीले भने,‘अपराधिक घटनाहरु मिलाईदिनुस् भन्दै कानुनी प्रक्रियामा दख्खल नदिनुस्, बरु अपराधीलाई कार्वाही गर्न समन्वय गर्नुस् । हामी २४ घण्टा सुरक्षाको लागि तयार छौं, तर राम्रो काम गर्दा प्रहरीलाई हौसला बढाइदिनुस्, जसले गर्दा अझै राम्रो काम गर्न उर्जा मिलोस् ।’ उद्घाटन समारोहमा बोल्दै महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले महिलामाथि हुने हिंसाको घटनालाई घरपरिवार र समाजमा मिलापत्र नगरी न्यायको लागि प्रहरीमा उजुरी गर्न आग्रह गरिन् । बलात्कार जघन्य अपराध भएकोले मिलाउनेलाई पनि मतियारकोरुपमा कारबाही हुने भन्दै उनले भनिन्,‘अपराधको घटनालाई गाउँसमाजमा मिलाउने होइन, न्यायको लागि प्रहरी र अदालतमा जानुपर्छ । अपराधी पक्राउ गर्न प्रहरीलाई सहयोग र समन्वय गर्नुपर्छ ।’

patrangbay