धरान :‘काेलम्बस अमेरिका पुगेजस्तै भयो कि मुसाङखेलेलाई,’तेह्रथुमको लालीगुराँस नगरपालिकाका मेयर अर्जुन माबुहाङले दशैको टिकाको दिन गाडी चालकहरुलाई फुलमाला र अबिर हाल्दै फेसबुकमा पोष्ट गरे ।

उनको यो पोष्टले लालीगुरास वडा ३ मुसाङखेलका बासिन्दाहरुको खुशीको प्रतिनिधित्व गर्छ । गाउँमा पहिलो पटक यात्रुबाहक बस र जीप पुगेको थियो । त्यो खुशीमा मेयर माबुहाङ मात्र होइन, गाँउ नै उर्लिए बसको स्वागतको लागि । गाउँलेहरुले चालकलाई मात्र होइन, गाडीलाई पनि फुलमाला र अबीरले स्वागत गरेर बषौंदेखिको आफ्नो खुशी प्रकट गरे । ‘गाउँमा सार्वजनिक गाडी पुग्नु भनेको गाउँलेहरुको लागि धेरै खुशीको क्षण हो, बषौदेखिको सपना पुरा हुनु हो,’मेयर माबुहाङले भने ।

मेयर माबुहाङका अनुसार मुसाङखेलसँगै वडा नं ८ मंगलबारे(सुङनाम र सोल्मा)मा पनि बस पुगेको छ । अब मंगलबारे र मुसाङखेलदेखि सिधै धरानसम्म सार्वजनिक यातायातका साधन सञ्चालनमा आउनेछ । यसले बषौदेखिको गाउँलेहरुले भोग्दै आएको असुविधा, कष्टकर यात्रालाई सहज बनाउनेछ । ‘बर्खामा पनि मजाले नै गाडी चल्छ, बाटो केही भइहाले नगरपालिकासँग एक्जाभेटर र भ्याकु स्टेण्डबाई छ, बाटो खोलिहाल्छौं,’मेयर माबुहाङले भने । उनका अनुसार नगरको आफ्नो स्रोतबाट एक्जाभेटर र भ्याकु किनिएको छ ।

44311007_10216038176699896_2973680986035847168_o copy

गाउँलेहरुले २०४८/०४९ सालतिर नै बाटोको लागि आफ्नो घर, आगन, खेतबारी दिएको भएपनि अहिलेसम्म सार्वजनिक यातायातको साधन गाउँमा देख्न पाएका थिएनन् । ट्रयाक खुलेपछि पछिल्लो समय लकडीवाला र दोकानेहरुको ट्याक्टर मात्र गाउँमा पुग्थ्यो भने मोटरसाइकल हुनेहरुले मात्र बाटो प्रयोग गर्थे । ‘४, ५ बर्षअघि डेनमार्कको उन्नति प्रोजेक्टले दिएको पैसाले ठेक्का लागेपनि दलहरुको खिचातानीले काम हुन सकेको थिएन । म मेयर भएर आएपछि ठेक्का रद्द गरेर उपभोक्तामार्फत काम भयो,’मेयर माबुहाङले भने,‘सरकार र नगरको पैसा पनि २०५२ सालदेखि बाटोमा लगानी भएको थियो, बल्ल अहिले गाडी गाउँमा पुग्ने बनायौ ।’

नगरपालिकाले रुटको लागि विभिन्न यातायात प्रालि एवं संघसंस्थाहरुलाई पत्राचार गरिसकेको छ । नगरपालिकाले बाटो बनाइदिने तर गाडी गाउँसम्म पुग्नैपर्ने सर्त राखेको छ । ‘गाउँलेलाई सुविधा पुग्नुपर्छ, त्यसको लागि गाडी गाउँमा जानुपर्छ । बाटो बनाउने काम हाम्रो भयो भनेको छु,’मेयर माबुहाङले भने ।

नगरबस र एम्बुलेन्स चलाउने तयारी

नगरको ग्रामिण भेगका जनतालाई पनि सुविधा दिने उद्देश्यले लालीगुरास नगरपालिकाले नगरबस चलाउने भएको छ । आगामी मंसिर, पुषतिर नगरबससँगै जनताको सुविधाको लागि एम्बुलेन्स पनि सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । ‘मंसिर,पुषदेखि नगरबस र एम्बुलेन्स पनि सञ्चालनमा आइसक्छ । त्यसपछि नगरका जनतालाई धेरै राहत मिल्छ,’मेयर माबुहाङले भने ।

44402528_350117182408162_6404660716468436992_n copy

44474670_350117499074797_192881054208491520_n copy

44317438_1932606240167087_5451459095250862080_n copy