धरान: आार्थिक अनियमितताबारे छानबिन गर्न गठित समितिका संयोजक सहकुलपति एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपतिलाई २४ घण्टे स्पष्टीकरण सोधेको खुलेको छ ।

कारबाही प्रक्रिया अघि बढाउने क्रममा दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधेको पत्र आइतबार हात परेपछि उपकुलपति डा.राजकुमार रौनियार ३ दिनको विदा बसेका छन् । ‘२४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न असोज २९ मा पत्र काटिएको थियो, विदा भएकोले पत्र आइतबार आइपुग्यो, इमेलबाट पनि पत्र भिसिले पाइसक्नु भएको थियो,’कर्मचारी स्रोतले भन्यो,‘आफ्ठयारो परिस्थिति बन्दै गएकोले पत्र आफुले नबुझी उहाँ ३ दिनको विदा बस्नु भएको छ ।’

स्रोतका अनुसार आइतबार खामबन्दी आएको २४ घण्टे स्पष्टीकरण पत्र उपकुलपतिले बुझ्न चाहेनन् । पत्र नबुझ्दा झनै समस्या हुने भएपछि उनले आफ्ना पि.ए.लाई पत्र बुझ्न लगाए । त्यसपछि, आफु ३ दिनको विदामा भएकोले कार्यालय आएपछि जवाफ पठाउने जवाफ पठाउन लगाए । ‘पहिलाको स्पष्टीकरणको जवाफमा चित्त नबुझेको भन्दै दोस्रो पटक २४ घण्टे स्पष्टीकरण सोधिएको हो,’स्रोतले भन्यो ।

यो छानबिन समिति प्रतिष्ठानको ऐन २०४९ को दफा ११ घ वमोजिम कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा गठन गरिएको हुनाले उपकुलपतिलाई कारबाही गर्ने सरकारको नियत रहेको बताइदै आएको छ । ऐनको दफा ११ घ मा प्रतिष्ठानका ४ जना पदाधिकारीलाई पदमुक्त गर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार सहकुलपतिको अध्यक्षतामा २ जना सिनेट सदस्यहरु राखेर कुलपतिले असोज ५ गते छानबिन समिति गठन गरेका हुन् । त्यसैले पनि स्वास्थ्यमन्त्री यादव र प्रधानमन्त्री ओली प्रतिष्ठानको उपकुलपति हटाउने प्रक्रियामा रहेको अनुमान गर्न सकिन्छ ।
स्पष्टीकरण पत्रको बिषयमा उपकुलपतिसँग सम्पर्क प्रयास गरिएपनि सफल भएन । छानबिन समितिमा रहेका एक सदस्यले भने २४ घण्टे स्पष्टीकरण सोधिएको पुष्टि गरे । ‘छानबिन समिति संयोजक र सहकुलपतिको हैसियतमा स्वास्थ्यमन्त्रीबाट २४ घण्टाभित्र जवाफ दिन दोस्रो पटक सोधिएको हो, पहिलाको चित्त बुझ्दो जवाफ नपाएको र थप बिषयमा पनि सोधिएको छ,’ती छानबिन समिति सदस्यले भने ।