बिराटनगर : प्रदेश १ को मन्त्रीपरिषद बैठकले मुख्यमन्त्री अध्यक्ष रहने गरी प्रदेश योजना आयोग गठन गरेको छ ।

मन्त्रीपरिषदको बुधबार बिहान सम्पन्न बैठकले आयोगको उपाध्यक्षमा सुबोधराज प्याकुरेललाई नियुक्त गरेको छ भने २ जना सदस्यमा मिना भण्डारी र पुर्ण लक्समलाई नियुक्त गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले जानकारी दिए । आयोगले प्रदेश सरकारलाई योजना तर्जुमा गर्ने कार्यमा मद्दत गर्न महत्वपुर्ण योजनाहरु बनाउनेछ । सोही मन्त्रीपरिषद बैठकले प्रदेश नम्बर १ को खर्चको मापदण्ड कार्यबिधि र मितब्ययीता निर्देशिका २०७५ र प्रदेशको आर्थिक कार्यबिधि नियमावली २०७५ लाई स्वीकृत गरेको छ ।

यसैगरि, मध्य पहाडी लोकमार्ग अन्र्तगत फिदिम र तेह्रथुम जिल्लाका २ वटा नयाँ सहर बनाउन पनि स्वीकृति दिएको छ । संघीय सरकारले २ वटा योजनासहित १७ करोड रकम प्रदेश सरकारलाई हस्तान्तरण गरेको कारण नयाँ सहर बसाउने आयोजनालाई स्वीकृति दिएको प्रवक्ता कार्कीले जानकारी दिए । यसैगरी, प्रदेशका प्रमुख सचिवलाई प्रदेश भित्र रहेका सबै कार्यालयहरुको भौतिक सम्पतिहरुको स्वामित्व प्रदेश सरकारको मातहत ल्याउन जिम्मा दिने पनि बैठकले निर्णय गरेको छ ।

यस्तै, संविधानसँग मेल नखाने शब्दहरु कोशी अञ्चल अस्पताल, मेची अञ्चल अस्पताल, मेची आयुर्वेदिक अस्पताल, कोशी–मेची यातायात कार्यालय लगायत नामहरु परिमार्जनको लागि १५ दिन भित्र संबिधान सम्मत नाम बनाउने जिम्मेवारी पनि बैठकले प्रमुख सचिवलाई नै दिएको छ । यसैगरि, कोशी चिकित्सा विज्ञान प्रतिष्ठान बिधेयक २०७५ को मस्यौदा बनाउन सैद्धान्तिक सहमति बैठकले दिएको छ भने प्रदेश स्वयम सेवक परिचालन कार्यबिधि २०७५ को मस्यौदालाई स्वीकृति प्रदान गर्नेलगायत एक दर्जन निर्णयहरु बैठकले गरेको छ ।