काठमाण्डौं : प्रदेश ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेशका भौतिक पूर्वाधार मन्त्री केशव स्थापितलाई बर्खास्त गरेका छन् । मुख्यमन्त्री पौडेलले मन्त्री स्थापितलाई शुक्रबार पदबाट बर्खास्त गरेका हुन् ।

स्थापितलाई हटाएर मुख्यमन्त्री पौडेलले उक्त मन्त्रालय आफुसँगै राखेका छन् । मन्त्रीपरिषदको दोस्रो वरियतामा रहेका स्थापित पछिल्लो समय मि टु अभियानअन्र्तगत आरोपसँगै विवादित बनेका थिए भने मुख्य कार्यभार छोडेर सानातिना कार्यक्रममा सक्रिय भएकोले तीब्र आलोचना खेपिरहेका थिए । प्रदेश सरकारको मन्त्रीपरिषद बैठकमा मुख्यमन्त्री पौडेललाई अभद्र व्यवहार गरेपछि उनको मन्त्री पद धरापमा परेको थियो ।
स्थापितलाई हटाउन नेकपाका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग कुराकानी गर्न मुख्यमन्त्री बिहीबार काठमाडौं गएका थिए । प्रधानमन्त्री ओलीसँग बिहीबार र शुक्रबार दुईपटक भेट गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई हटाउने सहमति लिएका थिए । प्रदेशको १३ अर्ब बजेट रहेको भौतिक पूर्वाधार मन्त्रालयले खासै काम गर्न सकेको छैन ।