काठमाण्डौ:प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिन उपचार पश्चात अस्पतालबाट डिस्चार्ज भएका छन् ।

स्वास्थ्य अवस्थामा सुधार हुदै गएपछि उनी शुक्रबार राति ७ बजेर ३५ बजे अस्पतालबाट डिस्चार्ज भएका हुन् । डिस्चार्ज पश्चात उनी घर फर्कीसकेका छन् । गएको सोमबार फोक्सोको संक्रमणल सास फेर्न गाह्रो भएपछि प्रधानमन्त्रीलाई अस्पताल भर्ना गरिएको थियो । उनको मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भएको थियो ।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्री आइतबार वा सोमबारदेखि आफ्नो नियमित काममा फर्किन सक्नेछन् । प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । सोमबार बिहान ४ बजेर ३० मिनेटमा सेन्टरको कोरोनरी केयर युनिट (सीसीयु) भित्रको विशेष क्याविनमा भर्ना गरिएको थियो । सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री स्वास्थ्यलाभ गरेर डिस्चार्ज भएको जानकारी दिए । उनले भने,‘उहाँको सबै जाँचको रिपोर्टहरु सामान्य छ ।’