उदयपुर: कसमस सिमेन्टको चुनढुंगा ढुवानीको विषयमा कटारी नगरपालिका ४ का स्थानीयबासी र प्रहरीबीच झडप भएको छ । झडपको क्रममा डिएसपी ध्रुव श्रेष्ठले महिलाहरुमाथि दुव्र्यवहार गरेको स्थानीयले आरोप लगाएका छन् । डिएसपी श्रेष्ठकै नेतृत्वमा प्रहरीले महिलामाथि लाठी चार्ज गरेको पनि उनीहरुको आरोप छ । मध्यराती भएको घटनाको विरोधमा आज बिहानै स्थानीयहरु प्रहरीविरुद्ध सडकमा उत्रेका छन । कटारी खण्डमा सिद्धिचरण लोकमार्ग ठप्प भएको कटारीका व्यापारी शैलेश कार्कीले बताए ।

'राती लाठी चार्ज भएछ, महिलाहरु घाइते छन् । बिहानैदेखि पहाडतर्फ जाने सडक बन्द छ,' उनले भने । मरुवा खोलामा मध्यराती करिब १२ बजे कसमस सिमेन्टको चुनढुंगा ढुवानी गर्ने टिपर खुलाउने क्रममा इलाका प्रहरी कार्यालय कटारीका डिएसपी श्रेष्ठको कमाण्डमा आएको प्रहरी टोलीले लाठी चार्ज गर्नुका साथै हातपात गरेको स्थानीय मोहन कोईरालाले बताए । उनका अनुसार यसअघि चाडपर्वमा टिपर सञ्चालन नगर्ने सहमति थियो । तर, त्यसविपरीत टिपर आएपछि विवाद शुरु भएको थियो । ‘चाडपर्वको बेला टिपर संचालन नगर्ने सहमति तोडेर टिपर सञ्चालन भएपछि कसमस सिमेन्ट र स्थानीयबीच विवाद सृर्जना भएको थियो,’कोइरालो भने,‘राती स्थानीयले टिपर रोके, डिएसपीको नेतृत्वमा आएको प्रहरीले गोली हान्छु, मार्छु भन्दै लाठ्ठी चार्ज गरे । महिलामाथि पनि हातपात भयो ।’ लाठ्ठी लार्जबाट कटारी ४ मरुवा खोलाकी बालकुमारी श्रेष्ठ, भक्तकुमारी राई, हरिमाया राई, राधिका राउत घाइते भएको नगरपालिका प्रवक्ता कृष्ण दनुवारले जानकारी दिए ।

‘प्रहरीले राती रोकेको टिपर खुलाउन जादा महिलामाथि कुटपिट भएछ, केही घाइते छन्,’उनले भने । उनका अनुसार महिलाहरुको ढाड, टाउको र पिडुँलामा लाठी प्रहार भएको, कपडा च्यातिएको छ । डिएसपी श्रेष्ठले भने टिपर खुलाउने क्रममा रातिको समयमा हुलदंगा हुदा महिलामाथि हातपात भएको जस्तो हुनसक्ने बताए । मदिरापान गरेको युवाहरुको जमातले टिपर रोकेकोले प्रहरीले खुलाउने क्रममा युवाहरु पक्राउ गर्दा महिलाहरुको समुह आएको र त्यसक्रममा नै हातपात हुन पुगेको हुनसक्ने उनले बताए । सिद्धिचरण लोकमार्गमा पर्ने कटारी घुर्मी सडकस्थित कटारी ८ वडमीमा कसमस सिमेन्टको चुनढुंगा उत्खन्नस्थल छ । त्यहाँबाट टिपरले ढुवानी गर्छ । टिपर आतंक बढेपछि स्थानीयले नगरपालिकामा गुनासो गरेका छन् ।