धरान: स्वास्थ्य मन्त्री उपेन्द्र यादव विदेश भ्रमणबाट शनिबार बिहान नेपाल आएका थिए । मन्त्री स्वदेश आउने भएपछि शनिबारै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियार काठमाण्डौं गएका थिए ।

काठमाण्डौं जाने उनी मात्र होइनन्, प्रतिष्ठानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ र रेक्टर डा.गुरु खनाल पनि काठमाण्डौं गए । प्रतिष्ठानमा अहिले स्वास्थ्यमन्त्रीको अध्यक्षतामा गठित समितिले छानबिन गरिरहेको छ । उक्त समितिमा रजिष्टार र रेक्टर सदस्य छन् । आइतबार तीनै जना स्वास्थ्य मन्त्रालयमा थिए । मन्त्री विदेशबाट आएपछि छानबिन समितिको आइतबार बैठक बस्ने भनिएको थियो । त्यसैले रजिष्टार र रेक्टर दुवै काठमाण्डौं गएका थिए । उपकुलपति डा. रौनियारलाई कारबाही गर्न यो समिति गठन गरिएको बताइदै आएको छ । स्वास्थ्य मन्त्री यादवले पनि २ पटक स्पष्टीकरण सोधी सकेका छन् ।

मन्त्री यादवको अध्यक्षतामा छानबिन समितिको बैठक बसे पनि सामान्य छलफल मात्र भयो, ठोस निर्णय हुन सकेन । छानबिन समितिका एक सदस्य छलफल भएपनि चाडपर्व लागेकोले ठोस केही निर्णय हुन सकेन । ‘कत्रो कत्रो युद्ध हुदा त चाडपर्वमा युद्धविराम हुन्छ, हामीले पनि चाडपर्वमा केही गरेनौं,’ती सदस्यले भने,‘यही गर्ने भनेर समितिले सोचेको अवस्था छैन ।’ बीपी प्रतिष्ठानका प्रमुख चार पदाधिकारीहरु २ गुटमा छन् । उपकुलपति रौनियार र अस्पताल निर्देशक डा.गौरीशंकर साह एक पक्षमा छन् भने रजिष्टार श्रेष्ठ र रेक्टर खनाल एकातिर छन् । रजिष्टार र रेक्टर छानबिन समितिमा रहेपछि उपकुलपतिसँगको सम्बन्ध चिसिएको छ । उनीहरुबीचमा युद्ध झै द्धन्द चलिरहेको छ । यही सन्दर्भमा ती सदस्यले युद्ध विराम भएको धारणा व्यक्त गरेका हुन् ।

स्वास्थ्मन्त्री यादवले स्पष्टीकरण सोधिएको बिषयमा छानबिनको प्रक्रिया भएको प्रतिक्रिया दिए । उनले पनि चाडपर्व मनाउने र त्यसपछि छानबिनको रिपोर्टअनुसार थप कदम हुने बताए । मन्त्री यादवले भने,‘तिहारमा के हुन्छ र, चाडपर्व त राम्ररी मनाउनुपर्छ ।’ यसैबीच, बीपी प्रतिष्ठान कर्मचारी कल्याण समाजका अध्यक्ष सुजेन्द्र तामाङले स्वास्थ्यमन्त्री यादवसँग भेट गरेका छन् । उनले आइतबार मन्त्रीलाई भेटेर प्रतिष्ठान धेरै समस्याग्रस्त भएकोले चाडो निकास निकाल्न आग्रह गरेको बताए । ‘बीपीको समग्र अवस्थाको बिषयमा कुरा राखे, पुर्वाधार विकास ठप्प छ । छिटो निकास निकाल्नुस् भनेर आग्रह गरे,’उनले भने,‘मन्त्री ज्युले गम्भीररुपमा लागेको छुँ, तिहार छठपछि पहल गर्छु भन्नुभएको छ ।’