धरान: औपचारिकरुपमा विवाह विना श्रीमान् श्रीमतिकोरुपमा बसेका एक युवती अहिले विचल्ली अवस्थामा छिन् ।

आफुलाई मात्र नभै भएको सम्पत्ति पनि सुम्पिएकी युवती अहिले न्यायको लागि प्रहरी र महिला अधिकारकर्मीहरुलाई गुहारिरहेकी छिन् । तर, उनीसँग ठोस प्रमाण नहुदा उनले न्याय पाउने सम्भावना न्युन छ । पीडित भनिएकी युवतीका अनुसार उनको खास घर खोटाङ हो । उनी धरान १७ मा बस्दै आएकी छिन् । उनको करिब ८ बर्षअघि धनकुटा आहाले घर भएका रोशन राई(विप्लव) सँग सामान्य चिनजान भएको थियो । सामान्य चिनजान पछि ७ हजार ऋण लगेको रोशनसँग विस्तारै उनको माया पिरती बस्यो । प्रेम प्रगाढ हुदै गएपछि २०७१ सालदेखि दुवै अघोषितरुपमा पति, पत्नी भएर सँगै बसेका थिए ।

बेरोजगार रोशनलाई पढ्ने खर्च युवतीले नै व्यहोरिन् । भविष्यको लागि आफ्नो जायजेथा बेचेर २ बर्षअघि रोशनलाई जापान पठाइन् । पीडित युवतीका अनुसार २० लाख रुपैया खर्चिएकी थिइन् । त्यसको लागि धरान ११ मंगलबारेमा रहेको साढे ९ धुर जग्गा उनले बेचेकी थिइन् । ‘जापान पठाउन म आफै काठमाण्डौं गएको थिएँ, जापान पठाउन मात्र २० लाख खर्च गरे । सबै खर्चको हिसाब गर्ने हो भने कति हो कति,’सोमबार पत्रकार सम्मेलन गर्दै उनले भनिन्,‘पति, पत्नी भएर बसेको थियौं, लेनदेनको हिसाब राख्ने, कागज गर्ने कुरा पनि भएन । श्रीमान हो, पैसा दिदा के भयो र भन्ने लाग्थ्यो ।’

IMG_20181105_160548 copy

जापानबाट फर्केर विवाह गर्ने अनि दुवै जापान जाने आश्वासन पाएकी युवती त्यतिबेला छाँगाबाट खसेजस्ती भइन्, जब जापानबाट आएपछि रोशनले उनीसँग सम्पर्क गरेनन् । त्यति मात्र कहाँ हो र, असोज २७ गते रोशनले इटहरीकी एक युवतीसँग विवाह पनि गरे । यो सबै थाह पाएपछि पीडित युवतीले विभिन्न संघसंस्था र प्रहरीमा पनि उजुरी दिइन् । तर, उनीसँग ठोस प्रमाणको अभावमा कतैबाट उचित सुनुवाई भएको छैन । ‘हाम्रो गर्भ पनि बसेको थियो, उसले जापान जानको लागि समस्या हुन्छ भनेर गर्भपतन गराउन बाध्य बनायो, गर्भपतन गराउदा श्रीमान् भनेर उल्लेख छ । जापान जानुअघि उसले छोडेको कागजपत्रहरु पनि छ, कृर्षि विकास बैकमा मलाई नै हकवाला पनि राखेको छ,’पत्रकार सम्मेलनमा उनले भनिन्,‘जसको लागि मैले सर्वश्व सुम्पिए, उसले नै धोका दियो, मेरो जीवन वर्वाद बनायो ।’

जापान पठाउदाको २० लाख रुपैयासहित न्याय पाउ भनेर उनले इलाका प्रहरी कार्यालयमा उजुरी दिइन् । त्यहाँ केटासहित २ पटक छलफल हुदा पनि केही निष्कर्ष भएन । प्रहरीले जिल्ला प्रशासन पठायो, त्यहाँ पनि उचित न्याय पाउन नसकेको उनले बताइन् । ‘अहिले उ इटहरीमा ससुरालीमा छ, म एउटी महिलालाई यस्तो बिजोग बनाएको छ । फेरी अर्को महिला मजस्तो पीडित बनेर भोली बिजोग हुन नपरोस्,’उनले भनिन्,‘उसलाई कारबाहीसहित मैले लगानी गरेको २० लाख रकम फिर्ता होस्, तपाईहरुले न्याय दिलाइदिन आग्रह गर्दछुँ ।’

IMG_20181105_160443 copy