धरान: धरानमा लामखुट्टेको टोकाईबाट सर्ने डेंगु ज्वरोको प्रकोप फैलदै गएको छ । एक साताभित्र ३ जनामा डेंगु ज्वरोको विरामी धरानमा फेला परेको छ ।

धरान १० का एक युवामा डेंगु ज्वरो भएको पुष्टि भएको ६ दिन भित्र पुनः २ जनामा डेंगु ज्वरो भएको पत्ता लागेको छ । धरान १५ र धरान १६ का दुई व्यक्तिमा पुनः डेंगु ज्वरो भएको धरान १० स्थित विजयपुर हस्पिटलले जनाएको छ । यसअघि पनि सोही अस्पतालमा उपचार गर्न आएका एक युवामा डेंगु भेटिएको थियो । अस्पताल निर्देशक प्रभाव खतिवडाका अनुसार दुवै जना पुरुष हुन् । उच्च ज्वरो आएपछि उपचार गराउन अस्पताल आएका दुवैलाई रगत जाँच गर्दा डेंगु ज्वरो प्रमाणित भएको निर्देशक खतिवडाले जानकारी दिए । उनले भने,‘ज्वरो धेरै आएपछि उपचार गराउन आएका थिए, जाँच गर्दा डेंगु भएको पाइयो ।’

अस्पतालले थप २ जनामा डेंगु ज्वारो भएको पुष्टि भएपछि धरान उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदीलाई पनि जानकारी गराइकेको जनाएको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाईबाट मानिसमा डेंगु ज्वरो सर्ने गर्छ । धरान १० मा डेंगुको विरामी देखिएपछि सोमबार आकस्मिक बैठक बसेर उपमहानगरले सर्तकर्ता अपनाउने र डेंगु विरामी बसेको क्षेत्रमा नियन्त्रणको लागि स्पे्र गर्ने निर्णय गरेको थियो । सोही निर्णय वमोजिम मंगलबार वडा १० मा स्प्रे पनि गरिएको थियो । ‘एउटा एउटा वडामा गरेर नहुने देखियो, अब एकै पटक धेरै वडामा स्प्रे गर्नुपर्ने, लार्भा बाच्ने ठाउँ नष्ट गर्नुपर्ने अभियान चाल्ने बेला भो,’अस्पताल निर्देशक खतिवडाले भने ।

एडिस लामखुट्टेले दिनमा मात्र टोकेर डेंगु सार्ने भएकोले दिउँसो आवश्यक सर्तकता अपनाउनुपर्ने चिकित्सकहरु बताउँछन् । एडिस लामखुट्टे सफा पानीमा बस्ने भएकोले आफ्नो घर वरीपरी पानी जमिने खालको सामानहरु राख्न हुदैन । घर वरीपरी फालेको खाली बट्टा, फुटेको कप, टायर, बोतलहरुमा पनि पानी जम्न दिनुहुदैन । त्यस्ता ठाउँको सफा पानीमा एडिस लामखुट्टे बस्ने गर्छ ।
......................................................
डेंगु ज्वरोको मुख्य लक्षणहरु

डेंगु ज्वरोका मुख्य लक्षण एक्कासी उच्च ज्वरो आउनु हो । यो ज्वरो ५ देखि ७ दिनसम्म रहनसक्छ । ज्वरोको साथसाथै आँखाको गेडी तथा टाउकोको पछिल्लो भागमा धेरै दुख्ने, शरीर कट्कटी दुख्ने, शरीरमा विमिरा आउने र रक्तस्राव हुने पनि लक्षण देखिन्छ । यस्तै जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने पनि हुन्छ ।

चिकित्सकहरुका अनुसार ज्वरो आउनुका साथै २ भन्दा बढी लक्षणहरु देखापरेमा डेंगु ज्वरो भएको हुनसक्छ । यसबाहेक वाकवाकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, शरीरमा रगत रहेको चक्का(निलडाम) देखापर्ने, बेहोस हुने लगायत लक्षणहरु पनि देखापर्न सक्छ । यस्ता लक्ष्मणहरु देखा परेमा तत्काल नजिकैको स्वास्थ्य संस्थामा उपचार गराउन जान चिकित्सकहरुको सुझाव छ ।