धरान: विश्व मधुमेह दिवसको अवसरमा बुधबार धरानमा निःशुल्क मधुमेह जाँच शिविर आयोजना भएको छ ।
 
लायन्स क्लब अफ धरान विजयपुर, लायन्स क्लब अफ धरान बुढासुब्बा, लायन्स क्लब अफ धरान इस्ट, लायन्स क्लब अफ भेडेटार र लायन्स क्लब अफ दन्तकाली धरानले संयुक्तरुपमा मधुमेह जाँच शिविर आयोजना गरेको हो । धरान १ छाताचोकस्थित पुरानो अस्पताल परिसरमा आयोजित शिविरमा बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठानको रोट्रयाक्ट क्लब अफ धरान घोपाले बिशेष सहयोग गरेको थियो । शिविरमा सय भन्दा बढीको निःशुल्क ब्लड, सुगर परीक्षण गरिएको थियो भने निःशुल्क परामर्श पनि दिइएको आयोजक संस्थाहरुले जनाएका छन् ।
 
 
शिविरमा १ जना चिकित्सक तथा ३० जना स्वयंसेवकहरु खटिएका थिए । जाँच गरिएका व्यक्तिहरुमा अधिकांशको सुगर उच्च देखिएको लायन रिजन चियरपर्सन दिपेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार २० जनामा उच्च सुगर देखिएको थियो भने ४ जनामा सुगरको मात्रा न्युन देखिएको थियो । उनीहरुलाई अस्पतालमा रिफर गरिएको निरौलाले जानकारी दिए । अधिकांशमा उच्च रक्तचाप, मोटोपना देखिएको रोटर्याक्ट क्लब ओफ धरान घोपाले जनाएको छ । रगतमा अत्याधिक सुगर मात्रा भएका व्यक्तिहरुलाई थप परिक्षणकालागि बिपी प्रतिष्ठान रिफर गरिएको छ ।
 
उमेर ढल्कदै गर्दा वा मोटोपन बढ्दै गर्दा चिनी रोगले सताउने र विशेषगरी खानपिनमा ध्यान नदिने, शारीरिक व्यायमको अभ्यास नगर्ने कारणले बयस्क उमेरदेखि नै चिनी रोगले सताउने जानकारी रोटर्याक्ट क्लब ओफ धरान घोपाका उपाध्यक्ष रोटर्याक्टर शुभम कुमार अग्रवाल बताउँछन् । रगतमा हुने चिनीको मात्राले मानव शरीरमा हुने मृगौलासँग प्रत्यक्ष सरोकार राख्दछ । अधिकांश चिनी रोगका बिरामीहरुलाई बिस्तारै मृगौलाको समस्या देखिने गरेको छ । शरीरको महत्वपूर्ण अङ्ग मृगौला खराब भएको थाह नपाइने वा कुनै लक्षण नै नदेखिने भएकोले अन्तिम अवस्थामा मात्र थाह हुन्छ । त्यसैले नियमित परीक्षण गर्न एमबिबिएस चौथो बर्षमा अध्ययनरत अग्रवाल आग्रह गर्छन् ।
 
22