विराटनगर: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले आफु सुटुक्क नभै प्रक्रिया पुरा गरेर नै अमेरिका भ्रमणमा गएको बताएका छन् ।

उपचारको लागि थाइल्याण्ड गएका मुख्यमन्त्री राई उतैबाट अमेरिका गएपछि विवादमा तानिएका थिए । उनको भ्रमणको बिषयमा नै एक पत्रकार कुटिएको समाचार सार्वजनिक भएपछि राई संघीय सरकारबाट अनुमति नलिई अमेरिका गएको समाचारहरु छापा तथा विभिन्न अनलाइन पत्रिकाहरुमा प्रकाशित भएको थियो । तर, अमेरिका भ्रमण र उपचारपश्चात स्वदेश फर्किएका राईले शुक्रबार वक्तव्य जारी गर्दै आफ्नो अमेरिका भ्रमण प्रक्रिया पुरा गरेर नै भएको प्रष्टीकरण दिएका छन् ।

वक्तव्यमा मुख्यमन्त्री राईले विदेशमा उपचार गर्न जानु आफ्नो रहर वा सोखमा नभै चिकित्सकको सल्लाह वमोजिम नै गएको बताएका छन् । आफ्नो उपचार तथा निजी भ्रमणबारे प्रदेश मन्त्रीपरिषदले कार्तिक ११ मा निर्णय भएको र संघीय सरकारलाई जानकारी गराएर नै कार्तिक १६ गते थाइल्याण्ड गएको पनि वक्तव्यमा उल्लेख छ । ‘प्रदेश सरकारको प्रमुख भएको नाताले निजी काम र भ्रमणमा जादा वा औपचारिक भ्रमणमा जादा अपनाउनुपर्ने प्रक्रिया र लिनुपर्ने निर्णय, अनुमति वा जानकारीको सम्बन्धमा अवगत भएकै कारण मैले प्रक्रिया पुरा गरेर मात्र भ्रमण गरेको जानकारी गराउदछु,’,वक्तव्यमा भनिएको छ,‘उपचारको क्रममा मेरो अन्तिम रिपोर्ट १२ तारिख अर्थात २६ गते मात्र आउने भएकोले पुर्व निर्णयअनुसार म अमेरिका गएको हुँ । सुटुक्क गएको होइन, विधिसम्मत सबै प्रक्रिया पुरा गरेर प्रेसलाई पनि जानकारी गराएर गएको कुरा राख्न चाहन्छु ।’

मुख्यमन्त्री राईले व्यक्तिगत उपचारको सिलसिला र निजी भ्रमण भएको हुनाले आफुले कुटनैतिक राहदानी अर्थात रातो पासपोर्ट पनि प्रयोग नगरेको बताएका छन् । अमेरिका भ्रमण कसैको निम्तो,पायोजन वा कार्यक्रमको लागि नभै पारिवारिक भेटघाटको लागि मात्र भएको पनि उनले बताएका छन् । निजी भ्रमणलाई आफुले चिन्दै नचिनेको व्यक्तिसँग जोडेर सनसनी बनाएर भ्रम छरेको भन्दै उनले खण्डन पनि गरेका छन् ।

46316342_1861671463886622_4337916694082093056_o copy

46325589_1861671390553296_7542666426721501184_o copy