धरान: धरानको वडा नं ५ मा रहेको निसानदेवी सामुदायिक वन समुहमा अवैधरुपमा रुख काटेर चिरान गर्दै गरेकाहरुलाई वन कार्यालयले शुक्रबार रंगेहात पक्राउ गर्न सफल भयो । तर, उनीहरुलाई पक्राउ गर्न त्यति सहज भने थिएन ।

गोप्य सुचना पाएपछि सब डिभिजन कार्यालय पाँचकन्याका प्रमुख सुरज निरौलाको नेतृत्वमा वन रक्षकसहितको टोली निसानदेवी वन समुहतिर गएको थियो । वनको टोली वस्तीमा पुग्दा नै भर्खर चिरान गरेको काठको बाकलहरु घरहरुमा देख्यो । यसले नै प्रष्ट जनाइसकेको थियो, कि वनमा अवैधरुपमा काठ कटान भइरहेको छ । वन कर्मचारीहरुले घरमा भेटिएका केटाकेटीहरुलाई सोध्यो, यो काठ कहाँबाट ल्याएको ? उनीहरुले चिरान भइरहेको ठाउँ देखाइदिए, र भने, समितिले नै काट्न लगाएको हो ।

बालबालिकाहरुले काठ चिरान गरिरहेको डाँडा देखाएपछि वनको टोली सर्तक भयो । डाँडा भएकोले एकातिरबाट मात्र जादा पक्राउ गर्न सम्भव थिएन । वनको टोली डाँडाको वरीपरि चारैतिर फैलिएर छापा मार्ने योजनासहित अघि बढ्यो । ‘चारैतिरबाट घेरा हाल्यौ, चिरान भइरहेको ठाउँसम्म सर्च गर्दै पुग्न हामीलाई एक घण्टा भन्दा बढी समय लाग्यो, हामी पुग्दा पनि उनीहरु आराले चिरान गरिरहेका थिए,’रेञ्जर इश्वरी बास्तोलाले भने,‘हामी छापा मार्न त्यहाँ पुग्दा पनि उनीहरु रुख चिरान गरिहेको थियो, चारैतिरबाट घेरा हालेको हुनाले कोही उम्कनै पाएनन् ।’

पछिल्लो समय आएको कानुनले पक्राउ पुर्जी अदालतबाट ल्याएर मात्र व्यक्तिलाई पक्राउ गर्नुपर्ने हुन्छ । तर कानुनले नै अभियुक्त एवं दोषी तत्काल भागी उम्की जाने अवस्था भएमा अनुसन्धान अधिकृतले जरुरी पक्राउ पुर्जी थमाएर पक्राउ गर्न सक्ने प्रावधान पनि व्यवस्था गरेको छ । सोही अनुसार सहायक वन अधिकृत सुरज निरौलाले तत्काल पक्राउ पुर्जी थमाएर उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । यस्तो असहज परिस्थितिमा अदालतबाट पछि अनुमति (सहमति) लिन सकिने छुट दिइएको छ । ‘तत्काल पक्राउ नगरेको भए उनीहरु उम्कन सक्थे, त्यसैले पछि अनुमति लिइने गरी पक्राउ गर्यौं, यो कानुनले नै व्यवस्था गरेको पनि छ,’रेञ्जर बास्तोलाले भने ।

को को परे पक्राउ ?

46389740_2210946959229584_6497270347493015552_n copy

वन समुहका पदाधिकारीकै मिलेमतो र निर्देशनमा अवैध फडानी भएको शुरुवाती अनुसन्धानबाट खुलेको छ । पक्राउ परेकाहरुले यही वयान दिएका छन् । वन कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा धरान ५ का प्रदिप खत्री, टेबहादुर राई, मिलन राई, विजय झा, तीर्थ बहादुर राई, सुरेश राई, धरान ७ का रामप्रसाद बिक, धरान ८ का विनोद खड्का र धरान १९ का भीमप्रताप तामाङ रहेका छन् । उनीहरुले समितिका सचिव देउमान लिम्बुले काट्न लगाएको वयान दिएका छन् । यद्यपी, समुहका अन्य पदाधिकारीको मिलेमतोको आशंका वन कर्मचारीहरुको छ ।

के के भयो वरामद ?

सब डिभिजन कार्यालय पाँचकन्याका अनुसार १४ थान बल्लाबल्ली वरामद भएको छ भने ५४ थान चिरान भएको काठ( फेन्टा) पनि वरामद भएको छ । यसैगरि, ४ वटा आरा र २ थान बञ्चरो पनि वरामद भएको छ । चिरान भइरहेको क्षेत्रमा शुक्रबार ५ वटा सखुवाको रुख(लाथ्रा) काटिएको टुटा भेटिएको रेञ्जर बास्तोलाले जानकारी दिए ।

46372539_2210946905896256_8566020763851685888_n copy