विराटनगर: मोरङको बिराटनगर महानगरपालिकाको बिभिन्न स्थानमा भएको लुटपाटको घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लुटपाटको घटनामा संलग्न भएको आरोपमा प्रहरीले सप्तरी शम्भुनाथ नगरपालिका १२ घर भई बिराटनगर (१२ शान्तिचौकमा डेरा गरी बस्ने २३ बर्षका शिवराम चौधरी र बिराटनगर ८ का २५ बर्षीय समीर कामतलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई प्रहरीले आज आइतबार सार्वजनिक समेत गरेको छ । उनीहरुले कार्तिक १४ गते बिराटनगरको हाटखोलाबाट नोवेल अस्पतालतर्फ जाँदै गरेको अवस्थामा मोरङ कटहरी २ का निरज श्रेष्ठको सामसुङ कम्पनीको मोवाइल लुटेर फरार भएका थिए ।

यस्तै, कार्तिक १६ गते साँझ करिब ६ बजे आर.के. चिल्ड्रेन अस्पताल अगाडिबाट मोरङ कानेपोखरी गाउँपालिका ३ घर भई बिराटनगर ८ बस्दै गरेकी हिना राजवंशीको नगद १८ हजार ४ सय, घडी १ थान, लेडिज झोला, सामसुङको मोवाईललगायत चोरी गरेर फरार भएका थिए । यसैगरि, बिराटनगरको हाटखोलाबाट कार्तिक २५ गते उनीहरुले नै करिब साँझ ७ बजे विराटनगर ७ की चन्द्रकला बस्नेतलाई तानेर भुईमा लडाई उनको व्यागभित्र रहेको नगद, मोवाईल लगायतका सामानहरू लुटपाट गरेको प्रहरीले जनाएको छ ।

lutne.jpeg copy

पीडितहरुले जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोलामा दिएको उजुरीको आधारमा पीडितसँगसमेत समन्वय गरी शनिबार पक्राउ गर्न सफल भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको साथबाट प्रहरीले बिभिन्न कम्पनीको मोवाईल ३ थान, विभिन्न कम्पनीको सीमकार्ड ७ थान, लेडिज घडी एक थान, लेडिज चस्मा १ थानलगायत लुटपाटमा प्रयोग गरिएको लु ३९ प ४३९७ नम्बरको मोटरसाईकल समेत बरामद गरेको मोरङ प्रहरी प्रमुख एसपी मनोज केसीले जानकारी दिए । पक्राउ परेका दुवैलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम म्याद थप गरी अनुसन्धान भईरहेको पनि जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।