सुनसरी: महिला अधिकारकर्मीहरुले महिला हिंसा विरुद्धको १६ दिने अभियानको तयारी गरिरहदा सुनसरीमा भने दुई जना महिलामाथि चरम यातना र कुटपिटको घटना सार्वजनिक भएको छ ।

सुनसरीको कोशी गाउँपालिका ८, भण्टाबारीमा बुचियादेवी खत्वेलाई उनका जेठाजु, जेठानी सपरिवार मिलेर निर्मम तरिकाले कुटपिट गरेको हो । घटना कार्तिक २४ गतेको भएपनि आज मंगलबार(मंसिर ४) मा मात्र सार्वजनिक भएको हो । पीडित ३५ बर्षीय बुचियादेवी खत्वेले न्यायको लागि भौतारिदै स्थानीय मानवअधिकारकर्मी शिवेन्द्र कर्णलाई भेटेर आफ्नो बच्चाले खिचेको भिडियो, फोटो उपलब्ध गराएछि मात्र घटना बाहिरिएको हो । पीडित महिलाको अनुमतिमा नै आफुले न्यायको लागि सामाजिक सञ्जालबाट फोटो र भिडियो सार्वजनिक गरेको अधिकारकर्मी कर्णले बताए । ‘उहाँहरुले मलाई केही दिनदेखि खोजी रहनु भएको रहेछ, म दुर्घटनामा परेर आराम गरिरहेको थिएँ, आज घरमा नै आएर सबै घटना सुनाए पछि अनुमतिमा नै यो भिडियो, फोटो सेयर गरेको । न्यायको लागि सबैबाट पहल होस् भने,’कर्णले कपुरी न्यूजसँग भने ।

पीडित महिला(बुहारी)लाई उनका जेठाजु बेचन खत्वे, जेठानी सरस्वती खत्वे, सासु जमुना खत्वे, भतिजो तेज खत्वे र भतिजि सीता खत्वे मिलेर निर्मम कुटपिट गरेका थिए । पीडित बुचियालाई भेट्न भारतबाट पाहुना आएकी उनकी बहिनी मनिकामाथि पनि त्यसबेला चरम यातना र कुटपिट गरिएको करिब एक मिनेटको भिडियोमा देख्न सकिन्छ । एक जना बालकले रुदै भिडियो खिचेका छन् । ‘जेठाजुको नानी र बुचियादेवीको नानी पटका पड्काउदा झगडा भएको रहेछ, त्यही निहुँमा यसरी चरम यातना दिएर महिलामाथि कुटपिट भएको छ । यो पहिलो होइन, यसअघि पनि पटक पटक यस्तै कुटपिट भइसकेको रहेछ,’अधिकारकर्मी कर्णले भने,‘पीडितहरुले प्रहरीको महिला सेलमा उजुरी दिएपनि जेठाजुलाई एकछिन मात्र राखेर छोडिदिएछ । त्यसैले उनीहरुलाई न्याय चाहिएको छ ।’

पीडित महिलाका श्रीमान् तीन बर्षदेखि वैदेशिक रोजगारमा छन् । बेला बेला विभिन्न निहुमा उनलाई कुटटिप भइरहने पीडितले जानकारी दिएको कर्णले बताए । पीडित ३ सन्तानकी आमा हुन् । उनकै भनाई अनुसार यो तीन बर्षमा पाँचौ पटक चरम यातना दिएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी ज्ञानेन्द्र फुँयालले घटनाबारे जानकारी नभएको भन्दै महिला सेलमा बुझ्ने र त्यस्तो भएकै हो भने कडा कानुनी कारबाही हुने बताए । उनले भने,‘घटना के भएको रहेछ, म बुझ्छुँ । प्रमाण छ र भएकै हो भने कारबाही हुन्छ ।’