सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक आज एक जनाको गोली हानी हत्या गरिएको छ । स्थानीयवासी ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिएका हुन् ।

जय बाबा इँटाभट्टाका सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको छ ।

अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ रहेका राससले जनाएको छ ।

ज्ञातव्य छ, केही दिन अगाडि सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको समेत भारतबाट आएको अज्ञात व्यक्तिले गोली हानी हत्या गरेका थिए ।

 

46483214_491055908058138_3666579006108467200_n 46456295_1563048427175338_2388555098558038016_n 46651917_1887928514637338_1398338173578248192_n 46492449_521575168325089_8886544651209670656_n 46505776_2226353404286612_3185206003650002944_n