सुनसरी : इँटा भट्टाका सुपरभाइजर मोहम्मद फिदा हुसेनको गोलीहानी हत्या भएको घटनामा शंकास्पद आधा दर्जन व्यक्तिलाई प्रहरी अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकाहरु केही भारतीय पनि छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तम सुवेदीले ६ जनालाई पक्राउ परेको सञ्चारमाध्यमहरुलाई जानकारी दिएका छन् । उनले ती सबै भारतीय भएको पनि बताएका छन् । उनीहरु जय बाबा इटा भट्टामा कार्यरत हुन् । यता, सुनसरीका प्रहरी प्रमुख एवं एसपी राजन अधिकारीले भने संख्याबारे नखोलेपनि केही शंकास्पद व्यक्तिहरु अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको स्वीकार गरे । उनले भने,‘केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएका छौं, संख्या यति उति नभनौ । भारतीय पनि छन्, केही यतैका पनि छन् ।’

घटनास्थलमा रहेका एसपी अधिकारीले सबै कोणबाट घटनाको अनुसन्धान गर्ने काम भइरहेको बताए । घटनास्थ, दुहबी, राजमार्ग क्षेत्रमा प्रहरी परिचालन गरेर सुरक्षा कडा बनाएको पनि उनले बताए । ‘अनुसन्धान हरेक एंगलबाट भइरहेको । टोलीहरु परिचालित छन्, टेक्निकल कुरामा सिआइबिलाई पनि अनुरोध गरेकय छौं,’एसपी अधिकारीले भने ।