सुनसरी: मर्निङ वाकमा निस्केको बेला गोली हानी हत्या गरिएका दुहबी ९ का फिदा हुसैनको घटनाबारे अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)को एक टोली दुहबी आएको छ ।

घटना पछि बुधबार नै जिल्ला प्रहरीले अनुसन्धानको लागि सिआइबीलाई सहयोग मागेको थियो । सोही अनुसार ब्युरोबाट डिएसपीको कमाण्डमा एक टोली घटनास्थल आएको सुनसरीका प्रहरी प्रमुख एसपी राजन अधिकारीले जानकारी दिए । उनले भने, म अर्को स्थानमा अनुसन्धानमा नै छुँ, ब्युरोबाट डिएसपीको कमाण्डमा टोली घटनास्थलमा छ ।

सिआईबीबाट डिएसपी हिरा पाण्डेको कमाण्डमा ३ सदस्यीय टोली दुहबी आएको हो । घटना गम्भीर प्रकृतिको भएकोले सत्यतथ्य पत्ता लगाउन सिआइबी टोली आएको हो । यसअघि ठिक २ महिनाअघि पनि सुनसरकीकै भुटाहामा खुर्सिद आलमको भारतीय सुटरद्धारा हत्या गरिएपछि सिआइबी टोलीले नै घटनाको अनुसन्धान गरेको थियो । फिदा हत्याको विरोधमा उत्रिएका आफन्तजन एवं स्थानीयहरुले ५ बुँदे माग प्रधानमन्त्रीसमक्ष पठाइसकेका छन् । माग पुरा नभएसम्म शव अन्त्येष्टी नगर्ने स्थानीयको भनाइ छ । आक्रोशित स्थानीयले आज बिहानैदेखि बजार, यातायात ठप्प पारेका छन् ।