सुनसरी:बुधबार बिहान गोली हानी हत्या गरिएका सुनसरीको दुहबी नगरपालिकाका फिदा हुसेनको परिवार तथा स्थानीयबासीले माग गरेको ५ बुँदे मागलाई गृहमन्त्रालयले क्याबिनेटमा प्रस्तुत गर्ने भएको छ ।

घटनापछि आक्रोशित स्थानीय एवं परिवारजनले सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेती मार्फत प्रधानमन्त्रीलाई ५ बुँदे माग पठाएका थिए । प्रजिअ उप्रेतीले परिवारजन एवं स्थानीयको मागलाई गृहमन्त्रालयमा पठाएको र गृहले क्याबिनेटको लागि प्रस्ताव गरिसकेको जानकारी दिए । ‘मैले गृहमन्त्रालयमा मागहरु हिजै पठाएको थिएँ, गृहले पनि क्याबिनेटमा प्रस्ताव पठाइसकेको छ,’प्रजिअ उप्रेतीले भने,‘आजै वा भोली क्याबिनेट बसेर माग सम्बोधन हुन्छ ।’

46525346_188930628710394_1913373690888716288_n copy

घटनापछि आक्रोशित स्थानीयले बुधबार २४ घण्टाभित्र अपराधीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउनुपर्ने, मृतकलाई शहीद घोषणा गर्नुपर्ने, तत्काल क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, मृतकको छोरालाई उनको ठाउँमा जागिर दिलाउनुपर्ने र हत्या, बलात्कारको घटना वृद्धि भइरहदा पनि सरकार मौन रहेको भन्दै गृहमन्त्रीले राजिनामा दिनुपर्ने माग गरेका थिए । एक इँटा भट्टामा सुपरभाइजर र विद्युत प्राधिकरणका कर्मचारीसमेत रहेकय हुसेनको बुधबार बिहानै मर्निङ वाकको समयमा अज्ञात समुहले गोली हानी हत्या गरेको थियो । उनको हत्यारा अहिलेसम्म पत्ता लाग्न सकेको छैन । करिब २ महिना अघि पनि सुनसरीकै भुटाहामा भारतीय सुटरहरुद्धारा गोली हानी मौलाना खुर्सिद आलमको हत्या गरिएको थियो ।

फिदा हत्या घटनाबारे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले अनुसन्धान गरिरहेको छ भने केन्द्रीय अनुसन्धान ब्युरोको टोली पनि अनुसन्धान गर्न बुधबार साँझ घटनास्थल आइपुगेको छ । ‘सबै कोणबाट अनुसन्धान भइरहेको छ, शंकाको घेरामा रहेका व्यक्तिहरुलाई ल्याएर सोधपुछ गरिरहेका छौं,’प्रजिअ उप्रेतीले भने ।

सडकमै शव राखेर शान्तिपुर्ण आन्दोलन

स्थानीयले मृतकको शव दुहबी बीच सडकमा राखेर शान्तिपुर्णरुपमा आन्दोलनमा छन् । दुहबी बजार पुर्णरुपमा बन्द छ भने यातायात पनि ठप्प छ । सरकारले ५ बुँदे माग पुरा नगरेसम्म आन्दोलन जारी रहने स्थानीयको अडान छ ।

46492364_549657588838738_6378595715295215616_n copy